निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । मंगलवार प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अुनसार मंसिर २७ गते हुने निर्वाचनको लागि कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म मतदानमा सहभागि हुने कर्मचारीको सरुवा वा काज सरुवा गर्न रोक लगाएको छ ।
सूचनामा भनिएको छ, ‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३ (२) (क) र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १० (१) बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरुवारकाज सरुवालगायत कार्य नगर्न नगराउन र सरुवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’
यसअघि असोज २४ गते हुने भनिएको निर्वाचन अन्तिम अवस्थामा आएर स्थगित गरिएको थियो । सरकारले निर्वाचन मिति मङ्सिर २७ गतेलाई सार्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त सबै विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको थियो ।
चुनाव सार्ने सरकारको निर्णयसँगै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले असोज १ गतेदेखि लागू गरेको निर्वाचन आचार संहिता फुकुवा गर्दै नयाँ कार्य तालिका लगायत सम्बद्ध अन्य विषयमा पछि जानकारी गराइने जनाएको थियो ।
अब सरकारले नै रोक्न चाहेको अवस्थामावाहेक अन्य कारणले निर्वाचन नहुने या स्थगित हुने अवस्था नरेहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।









