वीपीमा कार्यरत रेडियोग्राफरको मृत्यु भएपछि कर्मचारी आन्दोलनमा(भिडियोसहित)

  • भरतराज शर्मा (गाेपाल)

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि रेडियोलोजी विभागका कर्मचारी तथा विद्यार्थीहरु स्वास्थ्य सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् ।

रेडियोलोजी विभागको सम्पुर्ण सेवाहरु ठप्प पार्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी तथा विद्यार्थीहरु आन्दोलित भएपछि प्रतिष्ठानको रेडियोलोजी विभागका सबै सेवाहरु अहिले ठप्प छ ।

प्रतिष्ठानको ल्याब पनि बन्द भएको एक कर्मचारीहरुले बताए । इर्मजेन्सीमा भर्ना भएका विभागका एक रेडियोग्राफर सिकिस्त हुदा पनि आइसियु नपाएको, एक दिनको अन्तरमा दुई खालको पिसिआर रिपोर्ट दिएको साथै विरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने रेडियोलोजीका कर्मचारीहरुलाई मास्क, ग्लोब्स, पिपिईलगायत सुरक्षा सामग्रीहरु नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

प्रतिष्ठानमै कार्यरत कर्मचारीहरुले कोरोना परीक्षणको रिपोर्ट माथि नै प्रश्न उठाएका छन् । एक दिनको अन्तरमा दुई खालको रिपोर्ट दिएको प्रति उनीहरुले आशंका गरेका छन् । ‘म पनि कोभिडमा काम गरीरहेको छु, एक दिनको फरकमा २ खालको रिपोर्ट दिन्छ । अघिल्लो दिन नेगेटिभ रिपोर्ट हुन्छ । मरेपछि पोजेटिभ दिन्छ । हामीले के बुझ्नु ? प्रतिष्ठानका रेडियोग्राफर रामकृष्ण मेहताले भने ।

उनका अनुसार प्रतिष्ठानले कोभिडमा डिउटी गरेकालाई कुनै सुरक्षा नदिएको जिकिर गरे । कोभिडका विरामीको प्रत्यक्ष सम्पर्कमा रहनेलाई कुनै सुरक्षाका साधन नदिएको तर म्यानेजमेन्टमा कागजात पल्टाउनेहरुले सेनिटाइज र ग्लोब्स लगाएको आरोप लगाए । ‘डिमार्टमेन्टमा कतैपनि पिपिइ, गाउन, सेनिटाइजर, मास्क, ग्लोब्स दिएको छैन । २८ जनाको दरबन्दीमा १३ जनाले २४ सैं घन्टा काम गर्नुपरेको अवस्था छ ।’ रेडियोग्राफर मेहताले भने ।
कर्मचारीहरुले कोभिडमा काम गर्नेहरुलाई खानापनि गतिलो नदिएको समेत बताएका छन् । काम गराउन आफुहरुलाई स्टाफ तथा एचओडीले समेत धम्क्याउने गरेको पनि बताएका छन् ।

अस्पताल निर्देशकका कारण अस्पताल अस्तब्यस्त

वीपी प्रतिष्ठानको अस्पताल प्रशासन अस्तब्यस्त बनाउन अस्पताल निर्देशक डा. गौरिशंकर शाहको मुख्य भूमिका रहेको एक कर्मचारीले आरोप लगाए । प्रतिष्ठानको ल्याब र कोभिडको डिउटीमा रहेकालाई सुरक्षा साधन माग गर्दा अस्पताल निर्देशक डा. शाहले स्टोरमा केही साधन नभएको भन्दै पन्छिने गरेको बताए ।

‘हामीलाई पिपिइ, गाउन, ग्लोब्स चाहियो भन्दा अस्पताल निर्देशकले सामान छैन भनेर पन्छिए । उनीहरुको कार्यकक्षमा फायल पल्टाउनेलाई भने गाउन, ग्लोब्स, सेनिटाइजर लगाएर बसेका हुन्छन् ।’

अस्पताल निर्देशक डा. शाहले स्थानीय मेडिकल व्यवसायी बेणु कोइरालाको सेटिङमा कमाउ धन्धा गराएको एक कर्मचारीले जिकिर गरे । कोभिड अस्पतालमा चाहिने अत्यावश्यक स्वास्थ्य साधन उपलब्ध गराउनुको सट्टा उनले कमाउ धन्धा चलाएको कर्मचारीहरुको आरोप छ । अहिले प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत कर्मचारीहरुविच रजिष्ट्रार कार्यालयमा छलफल भइरहेको छ ।

 

प्रतिक्रिया