आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजा: सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरू हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाआराधना आजदेखि सुरू गरिँदैछ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ ।

आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गरिन्छ । यससँगै उपत्यकाका विभिन्न स्थान काठमाडौंको इन्द्रचोक, पाटनको मङ्गलबजार, चाँगुनारायणमा पनि यसरी आकाशदीप दिने चलन छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदयमा एवं सायंकाल दुवैमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाआराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष धर्मशास्त्रविद् गौतमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया