विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
विराटनगर । मोरङमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक विहान भर्ना भएका थिए । सोही दिन बेलुका उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग देखिएको दाहालले जानकारी दिएका छन् ।