पूर्वाञ्चल विश्वविद्यालयले बोलाएको सिनेटको औचित्य पुष्टि गर्न कार्कीको माग

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले शुक्रबारका लागि बोलाएको सिनेट बैठक सञ्चालनप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । विश्वविद्यालयका सिनेट सदस्यसमेत रहेका प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बिहीबार विज्ञप्तिमार्फत विरोध जनाएका हुन् ।

कार्कीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री केपी शर्मा ओली नै अनुपस्थित हुने सिनेट बैठक काठमाडौंस्थित प्रधानमन्त्री निवास बालुवाटारमा लगेर राख्नुको औचित्य पुष्टि गर्न विश्वविद्यालयका उपकुलपतिलाई चुनौती समेत दिएका छन् ।

‘कोरोना संक्रमणको महामारीको बेला पूर्वाञ्चल विश्वविद्यालयले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर सिनेट बैठक राख्नुको अर्थ छैन । त्यसमाथि प्रधानमन्त्री नै सिनेटमा उपस्थित नहुने भएपनि सिनेटको औचित्य रहेन ।’ कार्कीले भनेका छन् ।

विश्वविद्यालयका कुलपति नै अनुपस्थित हुने भएपछि उक्त बैठकलाई जुममार्फत पनि सञ्चालन गर्न सकिनेमा विश्वविद्यालयले अनावश्यक खर्च गरेको सिनेट सदस्य कार्कीको भनाई छ । यसअघिको सिनेटमा पनि कुलपति एवं प्रधानमन्त्री अनुपस्थित भएर सिनेटको गरिमा घटाएको उनले आरोप लगाएका हुन् ।

प्रतिक्रिया