भेन्टिलेटर नपाएर वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु !

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका धरानका कोरोना संक्रमितको भेन्टिलेटर नपाएर मृत्यु भएको बुझिएको छ । उच्च रक्तचापका राेगी ति पुरूषकाे भेन्टिलेटरमा राखेर उपचार गर्न नसकिएपछि मृत्यु भएकाे स्राेतकाे दावि छ ।

प्रतिष्ठानमा उपचारार्थ आएका धरान–८ का ४६ वर्षिय पुरुषलाई आइसियु सहित भेन्टिलेटरको आवश्यक थियो । तर, प्रतिष्ठानको कोभिड अस्पतालमा रहेका ९ वटा भेन्टिलेटर मध्ये अधिकांश विग्रिएकाले विरामीले उपचार पाउन सकेनन् ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले भेन्टिलेटर नपाएर मृत्यु भएका कोरोना संक्रमितको जानकारी सञ्चार माध्यमहरुलाई एकदिन पछि दिएका छन् । उनले हिजो दिउसो २ः४५ मा मृत्यु भएका ती संक्रमितको आज साँझ ७ः३३ मा इमेल मार्फत जानकारी दिएका थिए ।

अरु बेला हरेक दिन इमेल मार्फत कोरोना अपडेट दिने गरीएकोमा ती संक्रमितको एक दिनपछि मात्र सञ्चार माध्यमलाई अपडेट गराइएको छ । निमोनिया भएर असोज २० गते प्रतिष्ठानको इमरजेन्सीमा आएका ती पुरुषलाई बेलैमा भेन्टिलेटरमा राखेर उपचार गरिएको भए बचाउन सकिने अवस्था रहेको एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने ।

प्रतिष्ठानले तीन महिनादेखि विग्रिएको भेन्टिलेटर मर्मत गरेको छैन । प्रक्रिया विपरित उपकुलपतिका स्वकीय सचिबले धरानका व्यापारी चेतन अग्रवालको फर्मबाट कमसल नचल्ने भेन्टिलेटर खरिद गरेर कोभिड अस्पतालमा जडान गरीएको बुझीएको छ ।

कोभिड अस्पतालमा १० बेड आइसियु रहेकोमा ९ वटामा भेन्टिलेटर जडान छ । त्यस मध्ये ३ वटा सस्पेक्ट एरियामा छ भने एउटा पेडियाट्रिक भेन्टिलेटर छ । ५ वटा भेन्टिलेटर आइसियू बेडमा छन् जुन विग्रिएर थन्किएका छन् ।

‘कोभिड अस्पतालका नाममा मेडिकल माफिया र उपकुलपतिका स्वकीय सचिवले ‘कमाउ धन्धा’ चलाए, विरामीलाई स्वास्थ्योपचारबाट बञ्चित गराए ।’ प्रतिष्ठान स्रोत भन्छ ।

प्रतिष्ठानको कोरोना हस्पिटल प्रदेश १ कै लेवल ३ अस्पताल भनिएपनि स्वास्थ्य सुविधा भने कमजोर छ । प्रदेश १ र संघिय सरकारबाट प्राप्त साँढे १२ करोड लागतमा तयार पारिएको हस्पिटलमा भेन्टिलेटर समेत नचल्दा कोरोना संक्रमतिले ज्यान गुमाउनु परिरहेको छ ।

आज मात्रै वीपी प्रतिष्ठानमा झापा दमकका ५१ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । उनको आज विहान ३ः२० बजे मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जनाएका छन् ।

कोरोना विरामीलाई सम्पर्क गरेर मात्र आउन निर्देशन

प्रतिष्ठानले आजै एक सूचना प्रकाशित गरी प्रतिष्ठानको कोभिड अस्पतालका अधिकांश वेडहरुमा लक्षण सहितका बिरामीहरु भर्ना भइसकेकोले अस्पतालमा कोरोनाका विरामीहरु ल्याउनु परे आवश्यक सम्पर्क र समन्वय गरेर मात्र ल्याउन भनेको छ ।

समन्वय नगरी आएका विरामीहरुलाई आइसियू, भेन्टिलेटर तथा बेडको उपलब्धता सुनिश्चित गर्न नसकिने अस्पताल निर्देशक डा. गौरिशंकर शाहले जनाएका छन् ।

प्रतिष्ठानको कोभिड अस्पतालमा चरम लापरवाही भएको जनगुनासो आइरहेपनि प्रतिष्ठानले सुधार्न सकेको छैन । कोभिड अस्पतालको सम्पूर्ण खर्च व्यवस्थापन उपकुलपति आफैंले हेर्ने गरेका छन् ।

उपकुलपति र स्वकीय सचिव राजधानीमा

प्रतिष्ठानको कोभिड अस्पताल अस्तव्यस्त बनाएर प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र उनका सल्लाहकार भनिएका स्वकीय सचिव दिलिप भट्टराई राजधानी आएका छन् ।

प्रतिष्ठानको आवश्यकीय कामका लागि भनेर आएका उपकुलपतिले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग लामो भेटघाट गरेका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उपकुलपतिले स्वास्थ्यमन्त्रीसँग प्रतिष्ठान चलाउन असहज भएको, चिकित्सक, कर्मचारीहरुले अनावश्यक बखेडा झिक्ने गरेको तथा पदाधिकारीबाटै असहयोग भएको ब्रिफिङ गरेका छन् ।

दिउसो मन्त्रीसँग भेट गरेर उपकुलपति प्रभू बैंकका अधिकारीहरुसँग विजनेश डीलमा लागेका थिए ।

प्रतिक्रिया