डा. केसीको समर्थनमा वीपी प्रतिष्ठानका आवासीय डाक्टरहरुको प्रदर्शन

धरान । स्वास्थ्य शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डाक्टर गोविन्द केसीको समर्थनमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले आन्दोलन थालेका छन् ।

वीपी प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल लगायतका देशभरीका आवासीय डाक्टर आन्दोलनमा उत्रिएका छन् । आज सोमबार उनीहरुले प्रतिष्ठानको जी ओपीडी अगाडी धर्नामा बसी दैनिक दुई घण्टा आकस्मिक लगायतका सम्पूर्ण उपचार सेवा २ घण्टा ठप्प पारेका छन ।

सरकारले डा. केसीको मागको सम्बोधन नगरे वा उनको ज्यान रक्षाका निम्ती कुनै कदम नचाले आफुहरु जस्तोसुकै कदम चाल्न बाध्य हुने जुनियर रेसिडेन्ट वेलफेयर सोसाईटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए ।

बिगतमा सरकारले सोसाईटी लगायतका देशभरका आवासीय डाक्टरहरुको समस्यालाई सहजै नलिएको भन्दै कडा आन्दोलन गर्नुको विकल्प समेत नरहेको सोसाईटीका डा. देव घिमिरेले बताए । उनले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी गराउँदै सरकारले वार्ताको माध्यमबाट डा. केसीका माग पुरा गर्नुपर्ने बताए ।

डा. देवले डा. केसीको स्वास्थ्यप्रति सरकार जिम्मेवार भएन भने त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा स्वयम राज्यले बेहोर्नुपर्ने चेतावनी पनि दिए । विगत २१ दिन देखि शिक्षण अस्पतालमा आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्यवस्था गम्भिर बन्दै गएपनि सरकारले कुनै चासो दिएको छैन ।

प्रतिक्रिया