उपकुलपति र स्वकीय सचिवका कारण वीपीका प्रवक्ताले दिए राजिनामा !

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश सापकोटाले राजिनामा दिएका छन् । उनले हिजो बिहिबार बाट राजिनामा दिएका हुन् । प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ समेत रहेका डा. सापकोटाले प्रवक्ताको जिम्मेवारी निर्वाह गरेको चार महिनामै राजिनामा दिएका छन् ।
उनलाई प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले गत जेठ ७ गते प्रवक्तामा नियुक्त गरेका थिए । डा.सापकोटा सन् २००५ देखि प्रतिष्ठानमा कार्यरत छन् । उनले प्रतिष्ठानबाट नै एमडि गरेका हुन् । यसअघि ३ बर्ष मानसिक विभागका प्रमुखको जिम्मेवारी पनि संहालेका डा. सापकोटा प्रतिष्ठानमा लोकप्रिय र कामप्रति इमान्दार चिकित्सकका रुपमा परिचित छन् ।
डा. सापकोटाले प्रतिष्ठानका विभागीय प्रमुखहरु त्था सिनियर चिकित्सक र सञ्चारकर्मीहरुलाई समेत आफुले राजिनामा दिएको इमेल प्रेषित गरेका छन् ।
प्रतिष्ठानको ओपिडी सूचारु भएसँगै आफुनो कार्य व्यस्तता बढेकोले समय दिन नसकेर राजिनामा दिएको डा. सापकोटाले बताएका छन् । तर, प्रतिष्ठान स्रोतका अनुसार डा. सापकोटाले उपकुलपति र उनका सल्लाहकार दिलिप भट्टराईको कार्यशैली प्रति असन्तुट भएर राजिनामा दिएका हुन् ।
डा. सापकोटाले भने धरानका सञ्चारकर्मीहरुसँग ओपिडीमा आफ्ना धेरै विरामीहरु भएको र उनीहरुसँग धेरै समय कुरा गर्नुपर्ने भएकोले प्रवक्ताको जिम्मेवारी वहन गर्न नसकेर राजिनामा दिएको बताएका छन् । उपकुलपति डा. गिरीले प्रतिष्ठानका प्रवक्ता तथा उनको टीमले भने अनुसार काम नगरेको भन्दै छुट्टै प्रेस सल्लाहकार करारमा नियुक्त गरेका छन् ।
प्रतिष्ठानमा उपकुलपति र उनको सचिबालयको अनावश्यक हस्तक्षेपका कारण अधिकांश फ्याकल्टीहरु रुष्ट भएका छन् । प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक विभागमा उपकुलपतिका स्वकीय सचिब तथा सल्लाहकार दिलिप भट्टराईको हस्तक्षेपले कर्मचारीहरु समेत वाक्क भइरहेका छन् ।









