कोसी अस्पतालका बिरामी कुरुवालाई निःशुल्क खाना

विराटनगर । कोेसी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई लक्षित गरेर साँझको निःशुल्क खाना खुवाउन थालिएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको मात्रै सदस्य रहेको लायन्स क्लब आफ विराटनगर हेल्थ प्रोफेसनलमार्फत बिरामी कुरुवाहरुलाई साँझको एक छाक निशुल्क खान खुवाउन थालिएको हो ।
क्लबका द्धितीय उपाध्यक्ष एवं प्रदेश १ को स्वास्थ्य आपूर्ति महाशाखा प्रमुख शम्भु साहको संयोजकत्व र कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासको सहजीकरणमा बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउन सुरु गरीएको कल्बका संस्थापक अध्यक्ष बालकृष्ण साहले बताए । साहका अनुसार कुरुवाहरुलाई पाँचदिन देखि निःशुल्क खाना खुवाउन सुरु गरिएको हो ।
कोरोना भाईरस कोभिड–१९ को कठिन परिस्थितिमा विभिन्न स्थानबाट विविध रोगको उपचार गराउन आउने बिरामीका कुरुवाहरु कोहि पनि भोको पेट बस्न नपरोस भन्ने उद्देश्यले निःशुल्क खाना खुवाउन सुरु गरिएको साहले बताए ।
उनले भने, ‘अस्पतालमा उपचार गर्न आएका बिरामीकालागि खाना अस्पतालले नै व्यवस्था गरेको हुन्छ तर बिरामीको रेखदेख गर्न आउने बिरामीका आफ्न्तका लागि भने आफ्नै पैसा खर्चेर खाना खानुपर्ने भएकाले कोरोना कहरको असर सबैलाई पर्न गएको छ, हामीले गरेको सानो सहयोगले उनीहरुलाई केहि राहत मिल्छ भन्ने लागेर नि:शुल्क खाना खुवाउन सुरु गरेका हौँ ।’
अस्पतालमा उपचाररत बिरमीका लागि हेरचाह गर्न बसेका एक सय जना बढी कुरुवाहरुलाई खुवाउने खाना रोयल विर्यानी हाउसबाट तयार हुने गरेको रोयल विर्यानी हाउसका सञ्चालक पप्पु अन्सारीले बताए ।
अन्सारीले भने,‘लकडाउनको समयमा सडक पेटीमा बसेर दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मानिसहरुलाई नि:शुल्क खाना खुवाउने हाम्रो अभियानको टिमले १०९ दिनसम्म खाना खुवाएका थियौ, त्यही समय हामीले खुवाएको खानाको क्वालिटी गुणस्तर र शुद्धतालाई देखेर उहाँहरुले नि:शुल्क खाना खुवाउने खानाका लागि रोयल बिर्यानी हाउस रोज्नु भएको हो ।
बिर्यानी हाउसमा आउने ग्राहकहरुलाई १० देखि १५ मिनेटसम्म पर्खाएर बिर्यानी हाउसका सम्पूर्ण टिम नै मिलेर बिरामी कुरुवाहरुका लागि खाना तयार पार्ने गरेको अन्सारीले बताए ।









