वीपी प्रतिष्ठानका पदाधिकारी र फ्याकल्टी विच वार्ता, लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन नरोकिने

धरान । अढाई वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सूचारु हुनुपर्ने, बृद्धि भएको तलब पाउनु पर्ने लगायत जायज माग राखी गत बिहिबार देखि शान्तिपूर्ण आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टीहरुसँग आज प्रतिष्ठानका पदाधिकारीहरूले वार्ता गरेका छन् ।

वार्तामा पदाधिकारीहरुले आन्दोलनरत फ्याकल्टीहरुलाई माग पुरा गर्ने आश्वासन दिएपनि उनीहरुले लिखित प्रतिबद्धता वा ठोस परिणाम नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

दिउसो करिब तीन घन्टासम्म चलेको वार्तामा प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, रजिष्टार प्रा.डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा.डा. गुरू खनाल र अस्पताल निर्देशक प्रा.डा. गारीशंकर साहको उपस्थिती थियो । यता आन्दोलनरत तर्फबाट मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेल सहित १२ जना थिए ।

फ्याकल्टीहरुले अढाई वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सूचारु गर्नुपर्ने माग राखेकोमा प्रतिष्ठानका उपकुलपति डा. गिरीले प्रतिष्ठानको नियमावली संसोधनका लागि कार्यसमितिलाई आजै पत्र काट्ने यस विषयलाई प्राथमिकता दिएर तत्कालै बैठक बस्ने माहोल मिलाउने बताएका थिए ।

विगतमा पदाधिकारीहरुबाट पटकपटक झुटो आश्वासनको मारमा परेका फ्याकल्टीहरुले विस्वास गरी हाल्ने वातावरण नभएकोले आन्दोलन जारी रहने बताएका छन् । फ्याकल्टी प्रमोसन नहुँदा कतिपय विभागमा प्रोफेसर समेत छैनन् ।

फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले विगतमा बढुवाकै विषय लिएर पटकपटक पदाधिकारीहरुसँग सहमति भएपनि कार्यान्वयन नभएकोले विस्वास गरीहाल्ने वातावरण नभएको बताएका छन् । उनीहरुले कोरोना जोखिम भत्ता वितरण र रोकिएको तलब तथा वृद्धि भएको तलब तत्कालै भुक्तानीको माग गरेका छन् ।

प्रतिष्ठानका रजिष्टार डा. रेग्मीले सरकारले पछिल्लो समयमा जोखिम भत्ता लगायत क्वारेन्टिन र कर्मचारी व्यवस्थापन भन्ने शिर्षकमा १ करोड २४ लाख रकम उपलब्ध गराएकोले कोरोना संक्रमणको जोखिममा फ्रन्ट लाइनमा रहेर काम गर्ने फ्याकल्टी, कर्मचारीहरुको योगदानको उचित मुल्यांकन गर्ने बताए ।

आइसोलेसन वार्ड, फिभर क्लिनिक तथा कोभिड अस्पतालमा कार्यरत स्वास्थकर्मीहरूलाई मात्र रोस्टरको आधारमा जोखिम भत्ता दिनु भनेर सरकारको निर्देशन रहेकोले प्रतिष्ठानले सोहि अनुरुप भत्ता वितरण गर्ने छ । ‘आज बल्ल अस्पताल निर्देशक आइसोलेसनबाट काममा फर्किनु भएको छ । निर्देशकबाट प्रमाणिकरण भएको रोस्टरको आधारमा चैत्र देखिको भत्ता वितरण हुनेछ ।’ डा. रेग्मीले भने ।

प्रतिष्ठानमा कार्यरत स्वास्थकर्मीहरूको कोरोना विमाको सबै प्रकृया समेत मिलिसकेको पनि डा. रेग्मीले जानकारी दिए । तलब एक दुई दिनमा नै निर्णय गरी दशैंको पेश्की सहित वितरण गरीने प्रतिबद्धता जनाउँदै अहिले वृद्धि भएको तलब वितरण भइरहेको तर अघिल्लो वर्षको बाँकी बक्यौताको सवालमा केही समय लाग्ने रजिष्ट्रार डा. रेग्मीको भनाई छ ।

वार्तामा कोरोना संक्रमणको जोखिममा रहेका कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई मास्क तथा पञ्जाहरू समेत अभाव भएको बताइएपछि ओटी र आइसियुका स्वास्थकर्मीहरूलाई वार्षिक १५ सय रूपैँया भत्ता दिइने मौखिक सहमती भएको छ ।

वार्तामा सहभागी अस्पताल निर्देशक डा. गौरिशंकर शाहले हाल १५ दिनमा १ लाख जोर पञ्जा खपत हुने र मास्कको समेत अत्याधिक माग रहेको जानकारी दिँदै पञ्जा र मास्क खरिदका लागि टेन्डर आव्हान गरीएको बताए ।

वार्तामा प्रतिष्ठानको हरेक महिनाको आय व्ययको जानकारी तथा हरेक ३ महिनाको कार्ययोजनाका समेत जानकारी गराउन सोसाइटीले आग्रह गरेको थियो यसैगरी अस्पतालको फोहोरलाई वैज्ञानिक तरीकाबाट व्यवस्थापन गर्न र बिग्रीएको इन्सिनिरेटर खरीदका लागि आग्रह गरेका थिए । भने, वीपीको फार्मेसी सञ्चालन तथा क्वाटर मर्मत संभार गर्न पनि सोसाइटिले माग राखेका थिए ।

वार्तामा सोसाइटिले सिटी स्क्यान खरिदमा भएको विवादमा बारेमा उपकुलपतिसँग धारणा लिएको थियो । जसमा उपकुलपति डा. गिरीले लोएस्ट बिडरबाट नै मेसिन खरिदको प्रकृया गरेको र कुनै विवाद नभएको जिकिर गरेका थिए ।

प्रतिक्रिया