४१ औँ विश्व पर्यटन दिवस : धरानमा पर्यटन बोर्डको प्रादेशिक कार्यालय स्थापना गरिने

भरतराज शर्मा (गोपाल)
धरान। आज सेप्टेम्बर २७ अर्थात् ४१ औ ‘विश्व पर्यटन दिवस’ । विश्वभरि विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । सुनसरीको धरानमा पनि यो दिवस मनाइएको छ ।

नेपाल पर्यटन बोर्डले प्रदेश १ सरकारसँग सहकार्य गर्दै प्रदेशको पर्यटन प्रवर्धनका लागि धरानमा नै नेपाल पर्यटन बोर्ड प्रादेशिक कार्यालय स्थापना गरी सञ्चालन गर्ने सम्झौता गरेको छ ।

दिवसकै अवसरमा आज आइतबार धरानका मेयर तिलक राईले ‘कोरोना भाइरसको कारण अहिले पर्यटन गतिविधि ठप्प भएता पनि धरानको भविष्यका लागि यो कुरा सुखद सन्देश भएको बताए ।सञ्चारकर्मीहरूलाई नेपाल पर्यटन बोर्डले प्रदेश १ को पर्यटन प्रवर्धनका गतिविधि सञ्चालन गर्न धरानमा प्रादेशिक कार्यालय सञ्चालन गर्न उपमहानगरपालिकासँग सम्झौता गरेको मेयरलाई जानकारी गराएका थिए ।

धरानका मेयर राईले पर्यटन बोर्ड र उपमहानगरपालिका बीच हस्ताक्षर भएको समझदारी पत्रमा उपमहानगरपालिका र पर्यटन बोर्डले पर्यटन प्रवर्धनको लागि खेल्नुपर्ने ७ बुँदे भूमिका उल्लेख भएको जानकारी दिएका छन् ।

उपमहानगरपालिकाले प्रादेशिक पर्यटन बोर्ड कार्यालयका लागि कम्तीमा २ कोठा भएको घर व्यवस्था गर्ने, उपमहानगरपालिकाको नीति, कार्यक्रम तथ्य पर्यटन गतिविधिमा बोर्डको भूमिका सुनिश्चित गर्ने, प्रादेशिक बोर्डको समन्वयमा रणनीतिहरू तथा कार्यक्रमहरू तय गर्ने कुरा उल्लेख छ । साथै पर्यटनका सम्भावित उद्गम बजार लक्षित योजनाबद्ध पर्यटन सम्पदाका पूर्वाधार विकास कार्य सञ्चालन गरिने छन् ।

पर्यटन बोर्डले प्रादेशिक कार्यालयमा आवश्यक कर्मचारी व्यवस्थापन गरी उनीहरूको नियमित खर्च व्यहोर्ने छ । प्रदेश सरकार, स्थानीय निकायको समन्वयमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, अनुसन्धान, विकास र प्रवर्धनका लागि विज्ञको सहयोग र समन्वय गर्नेछ । प्रदेश सरकार र स्थानीय सरकारबीचको साझेदारीमा आवश्यक कार्यक्रम सञ्चालन गर्नेछ ।

बोर्डले पर्यटन विकास र प्रवर्धन सम्बन्धी विद्यमान नीतिहरू केन्द्रित प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरूको प्रवर्धनका लागि मन्त्रालयको समन्वयमा एफएम ट्रिप लगायताका बजारीकरण कार्यक्रमहरू आयोजना र समन्वय गर्नेछ । भने प्रदेश तथा स्थानीय स्तरमा सञ्चालन हुने पर्यटकीय मेला महोत्सवको सञ्चालन आवश्यक समन्वय र सहयोग गर्ने भूमिका समेत निर्वाह गर्नेछ ।

पर्यटकीय गन्तव्यहरूको लागि आवश्यक पर्ने समय अनुकुुल प्रवर्धन सामाग्री तयार गर्नुका साथै पर्यटन आश्रित समुदाय तथा पर्यटन र आतिथ्य सेवा प्रदान गर्ने उद्यमीहरू लक्षित आवश्यकता अनुसार तालीम लगायत मानव संशाधान विकास कार्यक्रमहरू सञ्चालन समेत गर्नेछ ।

त्यस्तै पर्यटन बोर्डको प्रादेशिक शाखा सञ्चालनका लागि प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सहकार्य सुरु भैसकेको समझदारी पत्रमा उल्लेख समेत गरिएको छ ।

सो समझदारी पत्रमा बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी र निमित्त निर्देशक लक्ष्मण गौतमले हस्ताक्षर गरेका छन् । धरान उपमहानगरको तर्फबाट मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार बोर्डको प्रादेशिक कार्यालय धरानमा स्थापना हुने र त्यसको सञ्चालनको लागि कम्तीमा २ वटा कोठा भएको घर उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैबीच सोही कार्यक्रम पछि धरान ४ स्थित रहेको सेछ ट्राभलिङ तथा सेक्ष होटलले धरान उपमहानगरपालिका परिसरमा विश्व पर्यटन दिवसको अवसरमा धरानका मेयर तिलक राईको हातबाट हावामा बेलुन उडाई मनाइएका छन् ।

संक्षिप्त रूपमा आयोजना गरिएको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदी पर्यटनकर्मी एलिना मगर लगायतले विश्व पर्यटन दिवसको लोगोसहितको बेलुन उडाएका थिए ।

सोही क्रममा मेयर राईले कोभिडका कारणले पर्यटन क्षेत्रमा ठुलो असर पुगेको बताउँदै धरानका मेयर तिलक राईले धरानमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा थुप्रै कामहरू भइरहेको बताएका छन् । मेयर राईले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले पर्यटन क्षेत्रमा थुप्रै लगानी गरे पनि कोभिडले ठुलो असर गरेको बताएका थिए ।

त्यस्तै पर्यटनकर्मी एलिना मगरले थला परेका पर्यटन कर्मी माथि उठ्ने बताइन् । उनले कोभिडका कारणले विगतका वर्षहरूमा जस्तो कार्यक्रम आयोजना गर्न नसकिएको बताउँदै विश्व पर्यटन दिवसको लोगोसहितको बेलुन उडाएर यो दिवस मनाइएको बताइन् ।

मगरले धरान उपमहानगरपालिका कार्यालय परिसर बाट ‘वर्ल्ड टुरिजम डे २०२० टुरिज्म एण्ड नेपाल डेभलपमेन्ट’ सन्देश लेखिएको ध्वजा सहितको बेलुन उडाएर सुरुवात गरेको बताइन । बेलुन उडाउने कार्यक्रम सेछ ट्राभलिङले आयोजना गरेको थियो ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलव ०५ प्रतिशत रहेकोमा पर्यटन क्षेत्रको आयमध्ये आन्तरिक पर्यटन र अन्तर्राष्ट्रिय पर्यटनको योगदान क्रमशः : ५७ प्रतिशत र ४३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया