वीपी प्रतिष्ठानको खरिद शाखाका प्रमुखको ४ महिना नपुग्दै सरुवा

- भरतराज शर्मा (गोपाल)
धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका खरिद शाखाका प्रमुख बिष्णु चापागाईंको ४ महिना नपुग्दै सरुवा भएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमै बसेका प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईंको सरुवा गरेका हुन् ।
मिलेमतोमा भइरहेको अनियमिततामा साथ नदिएपछि सरुवाको बहाना बनाई चापागाईंलाई मंगलबार उपकुलपति कार्यालयबाट सरुवाको पत्र आएको स्राेतले जनाएको छ । खरिद शाखा प्रमुखबाट सरुवा गरिएका चापागाईंलाई शैक्षिक प्रशासन शाखामा पठाइएको छ ।
अप्रत्यासित सरुवाले आफू अचम्ममा परेकाे चापागाईंले बताए । साथै उनले अन्य सरोकारवाला पदाधिकारीसँग कुनै छलफल वा परामर्श नभएको पनि स्पष्ट पारे । वीपी प्रतिष्ठानमा सामान्य तया कर्मचारीहरुको सरुवा दुई वर्षमा रजिष्टारको सिफारिसमा हुने प्रावधान छ ।
चापागाईंलाई सरुवा गरेलगतै अहिले खरिद शाखा प्रमुखमा सामान्य प्रशासनबाट अशोक साहलाई ल्याइएकाे छ ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलिप भट्टराईले प्रतिष्ठानका काम चुस्त दुरूस्त गराउन र कर्मचारीहरूकाे क्षमता याेग्यता पहिचान गर्न आन्तरिक सरूवा गरिएको र त्यो स्वभाविक पनि भएको प्रतिकृया दिएका छन् ।








