वीपी जयन्तिमा उपकुलपतिको प्रतिवद्धता ‘गुमेको साख फिर्ता ल्याउँछु’

धरान । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तथा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको २७ औं स्थापना दिवसका अवसरमा सालिक अनाबरण गरिएको छ ।
केहि समय अघि प्रतिष्ठानमा रहेको वीपी कोइरालाको तस्विर हटाएको भन्दै आलोचना भएकोमा प्रतिष्ठानले स्वर्गिय कोइरालाको योगदानको कदर गर्दै शालिक नै निर्माण गरेको हो । त्यसवेला नै प्रतिष्ठानका उपकुलपतिले प्रतिष्ठानमा वीपी काेइरालाकाे सालिक स्थापना गर्ने भनेका थिए ।
आज(बुधबार) बिपी कोईराला स्वास्थ्य बिज्ञानको ओपडी भवन अगाडीको खाली पार्कमा जननायक वीपी कोइरालाको ७ फिटको सालिक अनावरण गरिनुका साथै विविध कार्यक्रम पनि गरिएको छ । सालिक अनावरण प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गीरीले गरेका थिए । उक्त शालिक कलाकार तथा मुर्तिकार बिक्रम श्रीले बनाएका हुन् । सालिक निर्माणमा ६ लाख रुपैंया खर्च भएको छ । 
सो अवसरमा बोल्दै महामानव वीपी कोइराला प्रति श्रद्धा व्यक्त गर्दै वीपी कोइरालाको नाम र योगदान उच्च रहेको बताए । साथै उनले स्वर्गिय कोइरालाले नेपाली राजनीति र साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठानले सालिक निर्माण गरेको जनाए ।
डा. गिरीले प्रतिष्ठानको विकास र विस्तारमा आफु निरन्तर लागि रहेको बताउँदै प्रतिष्ठान भित्र रहेको वेथितिहरु हटाउन आफु आएको बताए । ‘प्रतिष्ठानको गुमेको साख फिर्ता ल्याउनका लागि प्रतिष्ठान भित्र उन्नति प्रगतिका कामहरु भएका छन् । एमसिएच, अंकोकार्डियो भवन अगाडी बढेका छन्, विश्वविद्यालयको रुपमा स्थापना गर्न सिनेटबाट नितिगत निर्णयहरु भएका छन् । क्यान्सर अस्पताल, अङ्ग प्रत्यारोपण सेन्टर तथा ट्रमा सेन्टरहरु निर्माणका लागि प्रक्रियाहरु अगाडी बढेका छन् ।’ उनले भने ।

सालिक अनावरण कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक डा. गौरिशंकर शाह, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लगायत प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका स्वर्गियवीपी कोइरालालको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो । भने, वीपी प्रतिष्ठानको आजभन्दा २७ वर्ष अगाडी आजकै दिनमा स्थापना भएको थियो ।
जहानियाँ राणा शासनको विरोधमा वीपीका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न वि.स. २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको थियो ।
क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बनेका थिए । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका छन् । प्रधानमन्त्रित्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागु गराएका थिए ।
विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि प्रधानमन्त्री कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत मन्त्रीलाई बन्दी बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी वीपी विभिन्न आठ वटा मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको छ ।
वीपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् । भने ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ कथा संग्रह प्रकाशित छन् । कोइरालाको क्यान्सर रोगका कारण विसं २०३९ साउन ६ गते निधन भएको थियो ।









