महाकाली प्रादेशिक अस्पताललाई कोरोना स्वास्थ्य सामग्री

कञ्चनपुर । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति सांसद निरु पालको प्रयासमा महाकाली प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री दिइएको छ ।

कोरोना भाइरसबिरुद्ध काम गरिरहेका महाकाली प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकका लागि प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति पालको पहलमा स्वास्थ्य विभागले उक्त स्वास्थ्य सामग्री पठाएको हो ।
स्वास्थ्य विभागले अस्पताललाई गाउन एक सय थान, सूज कभर एक सय थान, चश्मा एक सय थान, पञ्जा पाँच सय थान, मास्क (सर्जिकल) तीन हजार थान, सेनिटाइजर (५००एमएल) २५ बोतल, एन ९० मास्क तीन सय थान पठाएको छ । सांसद पालले व्यक्तिगत तर्फबाट अस्पताललाई तीन थान थर्मोगन र सर्जिकल मास्क पनि हस्तान्तरण गरेकी छन् ।
सांसद पालले अस्पतालको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताइन् । विगतको भन्दा अहिले अस्पतालको सेवा सुधार भएको पनि बताइन् । उनले लामो समयदेखि अस्पतालमा बजेट तथा उपकरण आउने गरेपनि विशेषज्ञ चिकित्सक र दक्ष जनशक्ति नहुँदा समस्या हुने गरेको बताउदै जनशक्तिको पदपूर्तिका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।








