पिडितको परिवारलाई क्षतिपुर्ति दिने सहमति पछि आन्दोलन स्थगित

काठमाडौं । झापाको झापा गाउँपालिका ३ स्थित कामाटोलीमा बुधबार एक जनाको ज्यान जाने गरि भएको घटनामा स्थानीयबासी र प्रशासनबीच ७ बुँदे सहमति भएको छ ।
सहमति भएसँगै स्थानीयले आन्दोलन स्थगित गरेका छन् । प्रहरीको गोली लागेर घाइते भएका स्थानीय रसिकुल आलमको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाविरुद्ध आज बिहान स्थानीयबासीहरु आन्दोलित भएका थिए ।
स्थानीय जनप्रतिनिधिहरुको पहलमा दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा ७ बुँदे सहमति हो ।
घटनामा ज्यान गुमाएका आलम परिवारलाई क्षतिपूर्तिको लागि नेपाल सरकारसँग माग गर्ने र पिडित परिवारलाई तत्काल किरिया खर्चवापत गाउँपालिकाले ५० हजार उपलब्ध गराउने निर्णय भएको छ ।

यसैगरि, गृह मन्त्रालयको निर्णयअनुसार घटनाको छानबिन गर्न सहायक प्रजिअ संयोजक रहेको ३ सदस्यीय समिति पनि गठन भएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी र अनुसन्धानका एसपी रहेका छन् ।
मृतकको बालबालिकाको शिक्षाको सम्पुर्ण जिम्मा नेपाल सरकारले लिने गरि पहल गर्ने, सौहार्दपुर्ण वातावरणमा शन्ति कायम राख्ने र मृतकको शव पोष्टमार्टम गरि बुझाउने सहमति पनि भएको छ ।
हिजो प्रहरीले कामटोलीमा गोरु काटेको आरोपमा अब्दुल सलाम र ताजमल हकलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका दुवैलाई म्याद थप गर्न लैजाने तयारी गरेपछि स्थानीयले अवरोध गर्दा भिडन्त भएको थियो ।
सोही क्रममा प्रहरीले गोली चलाउदा रसिकुल आमल घाइते भएका थिए । उनको उपचारको क्रममा बिएण्डसि हस्पिटलमा निधन भएको थियो ।









