‘काेराेनाले लग्दैन, त्यसकाे डरले लाँदाे रहेछ’ डा. ज्ञानेन्द्र कार्कीकाे अनुभव

काठमाडौं । विराट नर्सिङ होम, विराट मेडिकल कलेजका सञ्चालक डा. कार्की सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि विरामीको उपचार तथा अस्पतालसँग सम्बन्धीत भेटघाटबाट अछुतो रहन सकेनन् । २४ घन्टासम्म खटिएर काम गर्दागर्दै उनलाई कसरी कोरोना पोजेटिभ भयो पत्तै भएन ।

विरामीको उपचार र अस्पताल व्यवस्थापनका बैठकहरुमा पूर्ण सावधानी अपनाएपनि एक्कासी साउनको पहिलो हप्ता उनलाई सामान्य रुघामर्की लागेपछि पिसिआर गराइयो ।

अनी मात्र डा. कार्कीलाई कोरोना पोजेटिभ भएको पुष्टि भयो । कोरोना पोजेटिभ हुँदै गर्दापनि डा. कार्कीले आइसोलेसनमा रहेर त्यसलाई सामान्यीकरण गर्दै थिए । तर, साउन ८ गते स्वास्थ्यमा झनै समस्या आएपछि तत्कालै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याईंयो तथापि, त्यहाँ उनको स्वास्थ्यमा कुनै सुधार आएन । ‘पोजेटिभ भएपनि आइसोलेसनमा बसेर सामान्य उपचारबाटै ठिक हुन्छु भन्ने त थियो, तर झनझन गाह्रो बनाउँदै लगेपछि भने डाक्टरै भएपनि आत्तिएँ ।’ उनले भने ।

वीपी प्रतिष्ठानको उपचारमा डा. कार्कीको स्वास्थ्यमा सुधार आउनुको सट्टा झनै क्रिटिकल बनेपछि हतारहतार ९ गते नेपाली सेनाको हेलिकप्टर मार्फत शिक्षण अस्पताल ल्याइयो र त्यहाँ सघन उपचार कक्षमा राखेर उपचार गर्न थालियो ।

डा. ज्ञानेन्द्र कार्की

यस्तैमा नेपालले प्जाज्मा थेरापीबाट गम्भिर कोरोना संक्रमितको उपचार थाल्ने प्रक्रिया गर्दागर्दै शिक्षण अस्पतालले पहिलो पटक डा. कार्कीलाई नै प्लाज्मा शुरु गर्ने भयो । प्लाज्मा अघि डा. कार्कीलाई रेमडिसिभर औषधी समेत दिइयो । ११ भाइल औषधि ल्याउन भारतको कलकत्ताबाट विराटनगरसम्म प्लेन चार्टर गरियो भने, त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो । तत् पश्चात पाँच दिनसम्म डा. कार्कीलाई रेमडिसिभिर चलाएपछि स्वास्थ्यमा क्रमिक सुधार आयो । र, कन्भलेसेन्ट प्लाज्माथेरापी मार्फत उपचार गरियो । डा. कार्की प्लाज्मा थेरापीमार्फत उपचार गर्ने नेपालको पहिलो संक्रमित हुन् । उनी अहिले पूर्ण स्वस्थ भएका छन् ।

यो एक महिनाको भोगाई डा. कार्कीलाई जीवनकै ठूलो घटना भएको छ । मृत्युको मुखमा पुगेर फर्किए जस्तै भएको छ । आइतबार मकालु खबरसँग ललितपुरस्थित निवासमा कुराकानी गर्दै डा. कार्कीले कोरोना भाइरस सामान्य भाइरस भएपनि दिर्घरोगी भने जोखिमपूर्ण अवस्थामा पुग्न सक्ने बताए । डा. कार्कीलाई डायविटिज छ । त्यहि भएरपनि कोरोना भाइरसले चाँडो आक्रमण गर्न सक्यो । ‘जस्तो सुकै ज्ञानी, बुझ्ने भएपनि पोजेटिभ आयो भन्दा त साइकोलोजी इम्प्याक्ट परि हाल्छ, मलाई टाउकैबाट इक्फेक्सन शुरु भयो जस्तै लाग्यो ।’ उनलाई त्यत्तिबेला परीवार, चिकित्सक तथा आफन्तले दिएको हौसला र सहयोग अमुल्य लाग्छ ।

आफ्नो अनुभवले कोरोना संक्रमण भइ हाल्यो भन्दैमा आत्तिन चैं नहुने तर्क गरे । ‘यो सामान्य प्रकारको भाइरस हो, आत्तिनु पर्दैन, मात्तिनु पनि हुँदैन । सतर्क चैं हुनै पर्दछ ।’ डा. कार्कीको अनुभव छ । डा. कार्कीले विश्वमा कोरोना भाइरसभन्दा खतरनाक भाइरसहरु रहेको बताउँदै तीनिहरुको संक्रमण र जोखिमभन्दा कोरोनाको संक्रमण कम रहेको पनि बताए ।

‘कोरोना अघि पनि लाखौं करोडौं मान्छेहरु मर्ने रोगहरु आएका थिए, अहिलेपनि क्यान्सर, एड्स, इबोला, हेपाटाइटिस यस्ता धेरै रोगहरु छन जसलाई निको पार्न सकिएको छै तर, कन्ट्रोल त गरिरहेका छौं नी !’ डा. कार्की भन्छन्–‘अब कोरोना भाइरसलाई कसैले मार्छु भन्न सक्दैन । बरु यसबाट कसरी बच्ने, हाम्रो जीवनलाई कोरोना भाइरससँगै कसरी लैजाने त्यसतर्फ सोच्नु पर्छ ।’

डा. कार्कीले अहिले कोरोना भाइरस भइहाल्यो भन्दैमा हेयको दृष्टिकोणले हेर्नु सबैभन्दा ठूलो गल्ती भएको पनि बताए । ‘कोरोना पोजेटिभ हुँदैमा समाजमा जुन प्रकारले नेगेटिभ धारणाको विकास भइरहेको छ, यसले कसैलाई फाइदा गर्दैन, विरामी भएकालाई पनि नभएकालाई पनि । अहिले चिकित्सक, नर्स, विरामी, सुरक्षाकर्मी जो प्रत्यक्ष रुपमा कोरोनासँग लडिरहनु भएको छ, उहाँहरुमाथि गरिएको दुव्र्यहारले कसैलाई फाइदा गर्दैन ।’ उनले भने ।

हेर्नुहाेस भिडियाे

डा. कार्कीले कोरोना संक्रमितलाई मानसिक यातना दिने, घरमा ब्यानर टाँग्ने, दुव्र्यहार गर्ने, समाजबाट निकाल्नुपर्छ भन्ने कार्य निकृष्ट कार्य भएको बताए । ‘वुटवल र नयाँ बानेश्वरमा डाक्टरहरु माथि जुन घटना भयो यसले हाम्रो समुदाय कतातिर गइरहेको छ सोच्नुपर्ने अवस्था आयो । हाम्रो सामाजिक परीवेश यत्ति कमजोर थिएन योत हामीहरुले सामाजिक सञ्जालमा फैलाएको नकारात्मक विषयहरुबाट आएको हो । ती स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु तपाई हाम्रो स्वास्थ्यका लागि दिनरात लड्दालड्दै संक्रमित हुनुभएको हो उहाँहरुलाई सम्मान गरौं ।’

उनले कोरोना संक्रमण भएकाहरु आइसोलेनमा बसेर सुरक्षित भइरहेको अवस्थामा कोरोना नलागेकाहरु झनै असुरक्षित रहेको तर्क गरे । ‘त्यो डा. सावको घरमा कोरोना लागेको छ भनेर पोस्टर टाँस्नुहुन्छ भने बाँकी रहेका घरमा पनि यहाँ कोरोना आउन बाँकी छ भनेर पोस्टर टाँस्नुस, किनभने त्यहाँपनि कोरोना आउँछ आउँछ ।’ उनले कोरोना लागेकोहरु आइसोलेसनमा बस्दै गर्दा नलागेकाहरु पनि तरबारको धारमा रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल र सञ्चार जगतले पनि अब नराकात्मक भन्दा सकारात्मक सन्देश र समाचारहरु सम्प्रेषण गर्नुपर्ने औल्याए । ‘आज यति जना कोरोना लागेर मरे, यति विरामी भए रे, डाक्टर नर्स नै संक्रमित भए रे भन्ने जुन प्रकारले टिआरपीका लागि डरको समाचार सम्प्रेषण गरीन्छ यसले हाम्रो सोसाइटीको सोचलाई असर गरेको छ । तपाईं हामीलाई थाहा हुनुपर्छ, कोरोना लागेर मृत्यु हुनेको भन्दा निको हुनेको संख्या विश्वमै धेरै छ । नेपालको मुत्युदर अहिलेसम्म मात्र ०.५ प्रतिशत छ । जवकी विश्वको हेर्दा २ देखि ३ प्रतिशत छ’ उनले भने ।

कोरोनाप्रति आम मानिसहरु बढि नै डराएको तर्क गर्दै कोरोना संक्रमण हुँदैमा कोही नमर्ने पनि दावि गरे । ‘काेराेनाले मरिँदाे रहेनछ, त्यसकाे डरले पहिला मार्दाे रहेछ ।’ डा. कार्कीकाे अनुभव छ । उनले नेपालमा अहिलेसम्म जतिपनि मृत्यु भएकाे छ ति सबैकाे कोरोना संक्रमणकै कारणले मृत्यु नभएकाे पनि दावि गरे । ‘१४० मा मुस्किलले ४० जनाको मृत्यु भयो होला । अरु त कोही किड्नीको समस्यामा थिए होलान्, कोहीलाई डायविटिज थियो होला, कसैलाई क्यान्सर थियो होला ।’

तथापि, उनले कोरोना लाग्दैन भन्दैमा कसैले साँढे भएर हिँड्न भने नहुने बताए । जवान छु, मलाई केही गर्दैन भनेर हेलचेक्राईं गरेर हिँड्न नहुने डा. कार्कीको भनाई छ । ‘यो बेला साँढे भएर हिँड्ने हैन, कालले २० वर्षको पनि भन्दैन, ९५ वर्षकोले कोरोना जितेर आएका छन्, २२ वर्षको युवाको पनि मृत्यु भएको छ । त्यसकारण सरकारले अपनाएका सुरक्षाका उपायहरु पालना गरौं ।’

उनले सरकारले कोरोना संक्रमण नियन्त्रणमा अपनाएका उपायहरु सहि भएपनि प्रभावकारी नभएको तर्क गरे । उनले सरकारले पनि कोरोना नियन्त्रण र रोकथाममा प्रभावकारी प्रोटोकल बनाउन नसकेको बताए । ‘कोरोना नआउनु थियो आयो, स्वागत गरौं र त्यससँगै हाम्रो जीवनलाई कसरी अगाडी बढाउने हो त्यत्ता पट्टी लागौं ।’ डा. कार्कीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =