कोभिड १९ बाट बच्न आयुर्वेदिक औषधिको माग बढ्दो

धरान । कोरोना महामारी संसारैभरि फैलिएको छ । कोरोनाको हालसम्म कुनै पनि आधिकारिक खोप र औषधि बजारमा आउन सेकेको छैन । सर्वसाधारणले सजिलै प्रयोग गर्ने खालका त्यस्ता कुनै पनि औषधि बजारमा नआएकोले कोरोना सङ्क्रमणबाट बच्न अनेकन् उपायहरूको खोजी भइरहेको छ । अहिले सहर बजारदेखि गाउँसम्ममा पाइने शक्ति वर्द्धक औषधिको खोजी र माग बढिरहेको छ।

रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहयोगी हुने विश्वासले मानिसहरू कोरोना महामारीसँगै आयुर्वेदिक औषधि खोजेर खान थालेपछि यस प्रकारको औषधीहरूको माग पनि बढेको हो । विश्वमा कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिएसँगै नेपालमा पनि सङ्क्रमणको त्रास बढेको छ । धेरै व्यापार व्यवसाय खस्केको छ भने बजारमा अन्य पसल बन्द भएका छन् । मानिसहरूको चहलपहल समेत घटेको छ ।

कोरोना महामारीले समग्र बजारलाई नकारात्मक असर पारिरहेको भए पनि कतिपय आयुर्वेद औषधि र एलोपेथिक औषधी पसलहरूको पनि कारोबार बढेको हो । कोरोना सङ्क्रमण बढेसँगै आयुर्वेद तर्फ तीन वस्तुको माग बढेको छ । गुर्जोको डाँठ, जुस, पाउडर र क्याप्सुल लगायतको माग सबैभन्दा धेरै बढेको धरान छाताचौकस्थित रहेको नमुना थेरापी तथा सफल आयुर्वेद औषधी पसलकी सञ्चालिका लक्ष्मी प्रधानले बताएका छन् ।

हाम्रो पसलमा पहिले गिलय अर्थात् गुर्जो, अश्वगन्धा जस्ता वस्तुको खास माग थिएन । तर अहिले यसको माग धेरै नै बढेको छ । यी वस्तुहरू पहिले भन्दा हाम्रोमा कयौँ गुणा बढी बिक्री भइरहेको छ । तर बजारको पसलहरूमा त अझ बढी बिक्री बढेको प्रधानले बताइन् ।

त्यस्तै गुर्जोको प्रशोधित जुस र त्यसबाट तयार पारेको विभिन्न परिकारका क्याप्सुल, पाउडर, झोलको परिकारको माग बजारमा निकै बढेको छ । लकडाउनपछि मानिसहरुले करिब १० प्रतिशत खाने गरेको थियो । कोरोना कालपछि ८० प्रतिशतसम्म ब्यापार बढेको छ । लामो समयदेखि भारतबाट यी लगायत धेरै आयुर्वेदिक औषधि आयात रोकिएको भए पनि नेपालमै उत्पादित गुर्जोको जुस लगायतका विभिन्न परिकारले बजारको माग धानिरहेको पनि प्रधानको भनाई छ ।

उता रोजल आयुर्वेदिक औषधी पसल धरान १२ का सञ्चालक पतञ्जलि योग प्रशिक्षक तथा वैद्य बद्री राज भण्डारीले कोरोना महामारीसँगै बजारमा माग बढेको अर्को वस्तु अश्वगन्धा चूर्ण पनि रहेको बताए। अश्वगन्धा, गुर्जा, तुलसीको रस, सिलाजित, सतावर, सफेद मुस्ली, ल्वाङ, च्यावनप्रास, यार्सागुम्बालगायत शरीरको इम्युनिटी पावर बढाउने औषधीहरूको बिक्री पनि पहिलेको तुलनामा धेरै बढेको राजभण्डारीले जानकारी दिए ।

गिलय अर्थात् गुर्जो पहिलेदेखि नै नेपाली बजारमा आउने गरेको थियो । तर अहिले ‘कोरोना प्लस’ भनेरै बजारमा लगिएको छ । त्यस कारणले पनि कोरोना भाइरसले यसको बजार प्रवर्द्धनमा सहयोग पुगेको बताइएको छ ।

राजभण्डारीले पहिले पहिले आयुर्वेदप्रति जनआस्था घटे पनि अहिले आएर आयुर्वेदिक औषधिकै महत्त्व बढेको बताए । एलोपेथिक औषधिहरूको साईडईफेक्ट हुने र महँगो हुने भएकाले पनि यसको महत्त्व बढेको उनको भनाई छ । आयुर्वेदिक औषधिले शरीरमा इम्युनिटी पावर बढाउने भएकोले पनि यसको माग बढिरहेको उनले बताए । एक लिटर गुर्जो र तुलसीले शरीरको इम्युनिटी सिस्टम बढाउन काफी हुने पनि भण्डारीको दाबीले गरे ।

शरीरको आन्तरिक प्रतिरोधी क्षमता विकासमा सहयोग पुग्ने भन्दै च्यावनप्रास प्रयोग गर्नेहरू पनि अहिले बढेको एलोपेथिक पसल अन्तर्गतको धनलक्ष्मी फार्मेसीका सञ्चालक बलराम विश्वकर्माको भनाई छ । आफ्नो औषधि पसलमा भिटामिन ‘सी’ मल्टी भिटामिन च्यावनप्रासको माग र बिक्री पनि बढेको फार्मेसीका सञ्चालक विश्वकर्माको भनाई छ । त्यस्तै उनले मास्क, सेनिटाईजर, ग्लोब्स लगायतका वस्तुहरूको पनि माग बढेको बताए ।

कोरोना भाइरसको कुनै पनि औषधि र खोप आधिकारिकरुपमा बनिनसकेको अवस्थामा आयुर्वेदिक र एलोपेथिक औषधिहरूको प्रयोग बढेको छ । कमजोर शरीर, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरूलाई भाइरस सङ्क्रमणको जोखिम बढी हुने देखिन्छ । स्थानीय व्यवसायीहरूले यी वस्तुको बिक्री कोरोना लागेपछि नै ह्वातै बढेको र त्यसको आपूर्ति सबै नेपाली उद्योगहरूबाटै भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =