‘सरकार केके गर्यौं जस्तो गर्छ यता अक्सिजन नपाएर विरामी मृत्युको मुखमा छन्’

काठमाडौं । प्रदेश नम्बर १ मा कोभिड–१९ उपचार केन्द्र पर्याप्त अक्सिजन र भेन्टिलेटर भएका वेडहरु थप्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रदेश नम्बर १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले आज शनिबार भर्चुअल पत्रकार सम्मेलन गर्दै कोभिड–१९ उपचार केन्द्रमा अक्सिजन र भेन्टिलेटर थप्न माग गरेका हुन् ।
उनले तीन करोड भन्दा बढि खर्च गरेर तयार पारिएको अस्पतालमा अक्सिजन नभएकोले विरामी छट्टपाईरहेको पनि बताएका छन् । ‘प्रदेश सरकारले विराटनगरमा १० दिनमा मैले के–के न गरेँ भनेर देखाएजस्तो गरेर चैत २१ गते कोभिड–१९ अस्पतालको उद्घाटन गरेको थियो, तर ३ करोडभन्दा बढी खर्च गरेर सञ्चालनमा ल्याइएको यस अस्पतालमा अक्सिजनको अभावमा बिरामीहरू छट्पटाएर मृत्युको मुखमा परिरहेका छन् ।’ कार्कीले भने ।
उनले अस्पताल उद्घाटनका अवसरमा प्रदेश सरकारले विराटनगरको कोभिड–१९ अस्पताललाई लेभल–२ को बनाइने घोषणा गरेको तर हाल त्यहाँ बिरामीले शौच जानसमेत नपाएको बताए । उनले अस्पतालमा बिरामीलाई भेडाबाख्राझैँ राखिएको र न्यूनतम मानवीय व्यवहारसमेत नगरिएको दावी गरेका छन् ।

‘यस प्रदेशमा ५ सयभन्दा बढी बिरामी सरकारी आइसोलेसनबाट बाहिर आफ्नै घर वा डेरामा छट्पटाएर बसिरहनु भएको छ, धेरै बिरामीहरू सरकारी आइसोलेसनमा बसेर उपचार गराउन चाहनुहुन्छ तर पाइरहनु भएको छैन ।’ कार्कीले भनेका छन् । उनले मुख्यमन्त्री शेरधन राईले सरकार घरघरमा गएर सेवा दिइरहेको छ भनेर झुट्टो भाषण गर्दै हिँडेको पनि बताए ।
‘मुख्यमन्त्री शेरधन राई सरकार घरघरमा गएर सेवा दिइरहेको छ भन्दै भाषण गर्नुहुन्छ । प्रदेश सरकार कति अनैतिक धरातलमा उभिएको छ भनेर यसैबाट स्पष्ट हुन्छ ।’
नेता कार्कीले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले ३ सय वेडको कोभिड–१९ अस्पताल निर्माण गर्न ४ महिना पहिले नै १२ करोड रुपैयाँ निकासा गरेको जानकारी दिँदै त्यत्रो रकम कहाँ, कसरी र केमा खर्च गरियो भन्ने प्रश्न पनि गरेका छन् । उनले प्रारम्भिक अवस्थामै कोभिड–१९ को नियन्त्रण संक्रमितको उपचारका सवालमा प्रदेश सरकार विफल सावित भएको टिप्पणी गरे ।
‘सरकारले कोरोना संक्रमण देखिएका नागरिकको उपचार गर्न त सकेको छैन–छैन, अन्य बिरामी पनि उपचारबाट वञ्चित हुनुपरेको छ । आज कुनै आकस्मिक उपचार वा शल्यक्रिया गर्नुपर्यो भने सरकारी र निजी सबै खाले अस्पतालले हात उठाएको अवस्था छ ।’ उनले भने । उनले बर्तमान सरकारलाई सत्तामा बस्ने नैतिकता नै नभएको पनि बताएका छन् ।









