ओलीको काउण्टडाउन शुरु : बन्ला नयाँ ‘सिनारियो’ ?

काठमाडौं । प्रधानन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो पाँच दिनभित्र नयाँ ‘सिनारियो’ बन्ने ठोकुवा गरे ।

एपीवान टेलिभिजनसँगको कुराकानीका क्रममा पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गरेर बोलेका प्रधानमन्त्री ओलीले आउँदो पाँच दिनभित्र नयाँ ‘सिनारियो’ बन्ने जिकिर गरे ।

“हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो, भोलिबाट एक भनेर काउण्टडाउन  शुरु गर्नुस् ।” उनले कुराकानीका क्रममा भने, ‘पाँच दिनभित्र नयाँ सिनारियो बन्छ ।’

सम्वादहीनताको अवस्था चुलिएको बेला प्रधानमन्त्री ओलीले दिएका उक्त प्रतिक्रियाले विशेषगरी सामाजिक सञ्जालमा राम्रै चर्चा बटुल्यो ।

त्यसो त यसरी प्रतिक्रिया दिएको भोलिपल्ट (आज बिहीबार) असन्तुष्ट पक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओली वान टू वान वार्तामा जुटेका छन् ।

यो सन्दर्भलाई हेर्दा ओलीको काउण्टडाउनले काम गर्छ कि गर्दै भनेर सबै जिज्ञासु भएका छन् । यद्यपि दुई अध्यक्षबीच जुट्ने निष्कर्षको जानकारी भने बाहिरिनु बाँकी नै छ ।

तर ओली–दाहालले आफूनिकटका नेताहरुसँगको परामर्शमा भने कमी आउन दिएनन् । अध्यक्ष प्रचण्डले आफू निकटका नेताहरुलाई आइतबार खुमलटार बोलाएर आन्तरिक छलफल गरेका थिए ।

उनले केही न केही माध्यमबाट आफू निकटका नेताहरुसँग परामर्श तथा सोधपुछ गरिनै रहने उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

उता ओली पक्षीय प्रायः नेताहरु दिनको एक पटक बालुवाटार पुग्ने गरेको प्रधानमन्त्री निकट नेताहरु बताउँछन् । महासचिव विष्णु पौडेलबाहेकका अन्य ओलीनिकटका नेताहरु दिनहुँजसो बालुवाटार पुग्ने गरेका छन् ।

महासचिव पौडेल आफ्नो सुरक्षाकर्मीमा कोरोना संक्रमण भएपछि बालुवाटार जान छाडेको बताइएको छ । तर रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङसहितका नेताहरु प्रायःजसो प्रधानन्त्रीसँगको नियमित सम्वादका लागि बालुवाटार पुग्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *