रातको ११ बजे कोरोना संक्रमितको कोठामा सर्प छिर्यो, आइसोलेसन व्यवस्थित नभएको गुनासो

विराटनगर । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले देशका विभिन्न स्थानमा कोरोना संक्रमितलाई राख्न क्वारेन्टाइन र आइसोलेसन निर्माण गरेको छ । तर, करोडौं खर्च गरेर तयार पारिएका यी क्वारेन्टाइनहरु यति अब्यवस्थित र असुरक्षित छन् कि त्यहाँ महिलाहरुमाथि हातपात हुन्छ, शौचालयको दुर्गन्धले बसिसक्नु छैन । अव्यस्थित वेड र खानपानले स्वस्थ मान्छे पछि विरामी भएर फर्कन्छन् । दिउसै महिलामाथि शारिरीक दुव्र्यहार हुन्छ ।

एक साता अघि हामीले सप्तरीको राजविराज स्थित देशकै ठूलो क्वारेन्टाइन साईकृष्ण मडिकल कलेजको दुरावस्थाको रिपोटिङ गर्यौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरकै कोसी कोभिड–१९ अस्पतालको क्वारेन्टाइनको स्थलगत रिपोर्ट प्रकाशित गरिएकोमा थोर वहुत सुधार त भयो । तर, विराटनगर स्थित कोसी कोभिड अस्पतालको आइसोलेसन भने अझै असुरक्षित र अव्यवस्थित रहेको त्यहाँ रहेका संक्रमितले बताएका छन् ।

काेसी काेभिड अस्पताल भित्र थुपारिएकाे फाेहर र सँगै काेराेना सक्रमित बस्ने वेड

संक्रमितको कोठाभित्र सर्प नाच्यो

गए राती कोसी कोभिड–१९ अस्पतालमा सर्प छिर्यो । राती करिब साँढे एघार बजेतिर आइसोलेसनमा छिरेको उक्त सर्पले त्यहाँ रहेका संक्रमितलाई भागाभाग गरायो । आइसोलेसनमा करिब ६० जना कोरोना संक्रमितहरु रहेका थिए । ग्राउण्ड फ्लोरमा हैन पहिलो तल्लामै सर्प छिरेपछि संक्रमितहरु रातभर सुत्न सकेनन् । उनीहरुले अस्पतालको व्यवस्थापन गर्नेलाई सम्पर्क गरे तर, उनीहरुले कुनै रेस्पोन्स गरेनन् ।

‘हामीहरु सुतिसकेका थियौं, एक्कासी एउटा कोठा अर्को कोठा गर्दै सर्प छिर्यो । महिला संक्रमितहरु चिच्याउन थाल्नुभयो । हतारहतार सबै कोठा बाहिर निस्कियौं र सर्प धपाउन थाल्यौं । एउटा कोठामा छिरेको सर्प कता गयो थाहै भएन ।’ एक महिला संक्रमितले मकालु खबरसँग नाम उल्लेख नगर्ने शर्तमा भनीन् । सर्प कोठाभित्रै रहेको त्रासले उनीहरु रातभर सुत्न सकेनन् ।

काेराेना संक्रमित रहेकाे अस्पताल भवनकाे दाेस्राे तल्लामा छिरेकाे सर्प, तस्विरःमकालु खबर

संक्रमितले कोभिड अस्पताल म्यानेजमेन्टलाई खबर गर्दा पनि कोही नआएको उल्टै १२ बजेतिर सर्प गयोकी गएन ? भनेर सोध्ने काम मात्र गरेका थिए । उनीहरुले ‘गर्मीमा साधारण सर्प आइहाल्छ, आत्तिनु पर्दैन’ भनेर वास्ता नगरेको संक्रमितको भनाई छ ।
उनले पछिल्लो समय खानाको व्यवस्थापन ठिकै भएपनि नयाँ र पुराना कोभिडका संक्रमितहरुलाई एकै ठाउँमा राख्दा कोरोना सर्ने त्रास बढेको बताइन् । ‘विश्व स्वास्थ्य संगठनले पनि संक्रमणको लक्षण देखिएका र नदेखिएकालाई फरक–फरक स्थानमा राख्नुपर्छ भनेको छ । यहाँ त गुन्द्रुक खाँदेजस्तो नयाँ र पुरानालाई एउटै स्थानमा राखिएको छ ।’ मकालु खबरसँग फोन सम्पर्कमा ती संक्रमितले भनीन् ।

उनका अनुसार दुई साता देखि आइसोलेसनमा बसेर पिसिआर टेस्ट गरी घर फर्कन सक्ने अवस्था भएकाहरु र नयाँ संक्रमितलाई एउटै स्थानमा राखिँदा दुई साता देखि बसेकाहरुलाई पुनः संक्रमणको जोखिम बढेको छ ।

‘पहुँच हुने संक्रमितको घरमा बास नहुनेको खोरमा !’

विराटनगर महानगरपालिकाले कोरोना पोजेटिभ भएकाहरुलाई फरकफरक व्यवहार गरेको संक्रमितको आरोप छ । मकालु खबरको सम्पर्कमा रहेकी एक महिला संक्रमितले पहुँचवाला र हुने खानेलाई घरमै आइसोलेसनमा बस्न छुट दिइएको र पहुँच नभएकाहरुलाई घरमा छुट्टै सुरक्षित बस्न सक्छु भन्दा पनि नदिइएको जिकिर गरीन् ।

‘मलाई संक्रमणको लक्षण छैन, आफ्नै घरमा सुरक्षित बस्न सक्छु भन्दा पनि दिइएन । उल्टै प्रहरी लगाएर भेडाबाख्रा कोचे जस्तो खोर जस्तो ठाउँमा ल्याइयो ।’ उनले भनीन्–‘प्रदेशको महान्यायाधिवक्तालाई कोरोना भएको पुष्टि भयो, तर उहाँलाई यहाँ ल्याइएन । हुने खाने केही चिकित्सकलाई पनि कोरोना भयो उहाँहरु आरामले घरमा बस्नु भएको छ । हामी सर्वसाधारणलाई चैं खोर जस्तो ठाउँमा राखिँदैछ ।’ उनको भनाई छ,‘कम्तिमा घरमा सुरक्षित रहन सक्नेलाई जान दिनुपर्दथ्यो । यसले यहाँ पनि कोरोना संक्रमितको संख्या कम हुन्छ, वेडहरु खाली हुन्छ ।’

पीसीआर परीक्षणमा पनि मनपरी !

कोरोना संक्रमित आइसोलेसनमा बसेको केही समयपछि उसको पिसिआर परीक्षण गरीन्छ । कोसी कोभिड अस्पतालमा संक्रमितको पीसीआर गर्दा समेत पहुँचवाला र पावर भएकालाई प्राथमिकता दिइएको ती अर्का संक्रमितले जनाएका छन् । ‘विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना लक्षण नदेखिएकालाई ७ दिनमा पीसीआर गराउनु पर्ने व्यवस्था छ तर, यहाँ पहुँच भएकालाई चार पाँच दिनमै गराइएको छ । नभएकालाई दुई हप्तामा पनि गराइएको छैन ।’ डब्लुटिएचओका अनुसार लक्षण देखिएकाहरुलाई भने १४ दिनपछि पीसीआर गर्ने मापदण्ड छ ।

ती संक्रमितका अनुसार हाल कोसीमा ९० प्रतिशत लक्षण विहिन संक्रमित रहेका छन् । डाक्टरहरुले नै आफ्ना र आफन्तलाई फोन गरेर संक्रमितको पीसीआर गरिदिने गरेको ती संक्रमितको भनाई छ । ‘डा. डीन आचार्य, डा. दीपकहरुले फोन गरेरै आफ्ना संक्रमितलाई रिपोर्ट दिन्छन् ।’ उनको भनाई छ ।

‘क्षमता भन्दा बढि संक्रमित भएर समस्या भयो’ डा. आचार्य

यता अस्पतालका डा. डीन आचार्यले भने गएराती सर्प आएको जानकारी भएपनि प्राविधिक कारणले सर्प मार्न वा धपाउन नसकिएको बताए । ‘गल्ती भवन तयार गर्ने बेलैमा भएको हो । यसरी सर्प आउँछ भन्ने हेक्का पनि भएन । झ्यालमा जाली लगाएको भए यस्तो हुने थिएन ।’

डा. डीन आचार्यले कोसी कोभिड अस्पताल ५० वेड क्षमताको भएपनि बढि संक्रमितहरुलाई राख्नुपर्दा व्यवस्थापनमा समस्या आएको बताए । शुरुशुरुमा संक्रमितलाई उनीहरुको डिमाण्ड पनि पुरा गरेको बताउँदै अहिले दिनदिनै संक्रमित थपिँदा र जनशक्ति लगायतको अभावले कमजोरी भएको उनको तर्क छ । डा. आचार्यले नयाँ र पुरानोलाई एकै स्थानमा राखेको भएपनि लक्षण भएका र नभएकालाई फरकफरक गरीएको जनाए ।

उनले घरमा सुरक्षित रुपमा बस्न सक्ने क्षमता भएकाले बस्न पाउने पनि बताए । तर, त्यसको लागि स्थानीय निकायबाट अनुमति लिनुपर्ने छ । ‘कुनै संक्रमितले घरमा सुरक्षित रुपमा आइसोलेसनमा बसन सक्छु, मसँग क्षमता र पूर्वाधार छ भने हामीले मिल्छ भनेका छौं । केही बस्नुपनि भएको छ । सबैभन्दा ठूलो कुरा होम आइसोलेसनमा बसिसकेपछि उहाँहरुको कृयाकलापले समुदायमा कस्तो प्रभाव पर्छ भन्ने कुरा हो । त्यसकारण यसमा स्थानीय निकायसँग समन्वय गरेर जान सकिन्छ ।’

हाल १० दिनमा संत्रमितको पीसीआर परीक्षण गर्ने गरीएको र उसको रिपोर्ट ४ दिनमा आउँदा नेगेटिभ आए घर पठाउने गरीएको जनाउँदै डा. आचार्यले कतिपय संक्रमितको दुई तीन पटक पीसीआर गर्दा पनि पोजेटिभ देखिएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =