‘केन्द्रीय कमिटिले निकास ननिकाले महाधिवेशनमा जानुको के विकल्प हुन सक्छ ?’

काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद स्थायी कमिटिबाट समाधान नभए केन्द्रीय कमिटिमा ल्याउनु पर्ने र केन्द्रीय कमिटिले समेत विवाद समाधान गर्न नसके महाधिवेशनमा जानुको विकल्प नरहेको नेता लालबाबु पण्डितले बताएका छन् ।

सरकार सञ्चालन र पार्टी सञ्चालनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओली तथा शिर्ष नेताहरुविचको अन्तरद्वन्द्वले सरकार र पार्टी दुवैलाई गम्भिर मोडमा लगेको बताउँदै पूर्वमन्त्री समेत रहेका पण्डितले पार्टीभित्रका अन्तरविरोधहरु स्थायी कमिटिले हल गर्न नसकेको प्रष्टिँदै गएकोले अब अबिलम्ब केन्द्रीय कमिटिको बैठक बोलाएर टुंग्याउनु पर्ने जनाए ।

‘सरकार सञ्चालन र पार्टी सञ्चालनमा विवादहरु आए त्यसलाई स्थायी कमिटिले हल गर्नुपर्छ, त्यहाँबाट पनि कुनै निकास निस्किएन भने केन्द्रीय कमिटिमा लैजानु पर्छ र, त्यहाँबाट पनि समस्या हल भएन भने महाधिवेशनमा जानुको के विकल्प हुन सक्छ र ?’ नेता पण्डितले मकालु खबरसँग भने ।

उनले पार्टीको विधान र पद्दति अनुसार आन्तरिक विवादहरु हल गर्ने अन्तिम स्थान भनेको महाधिवेशन नै भएको जनाए । नेकपाका १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटिको बैठक माग गर्दै हस्ताक्षर बुझाएकोले अव अध्यक्षद्वयले छलफल गरेर केन्द्रीय कमिटिको बैठक बोलाउनु पर्ने नेता पण्डितको धारणा छ । ‘स्थायी कमिटिबाट विवाद हल भएन भने केन्द्रीय कमिटिबाट बैधानिकता दिनुपर्छ । केन्द्रीय कमिटिले पनि सकेन भने महाधिवेशनमा जानुको विकल्प के हुन सक्छ ?’ उनले प्रश्न गरे ।

तर, नेकपाको बैठकहरु दुवै अध्यक्षको सहमतिमा बोलाइने ब्यवस्था छ । नेता पण्डितका अनुसार पार्टीलाई विधि र पद्दति अनुसार चलाउने हो भने अध्यक्षद्वयले केन्द्रीय कमिटि बोलाउनु पर्छ । ‘विवादहरु स्थायी कमिटिबाटै हल गर्नुपर्छ भन्ने मेरो मान्यता हो, भएन भने दुवै अध्यक्षले केन्द्रीय कमिटिको बैठकका एजेण्डाहरु तय गर्नुपर्छ ।’

उपाध्यक्ष वामदेव गौतमले अगाडी सारेको ६ बुँदे प्रस्तावलाई अहिले नै राम्रो नराम्रो भन्न नसकिने समेत जिकिर गरे । ‘कसैले अगाडी सारेको प्रस्ताव राम्रो नराम्रो भन्दापनि ती विषयहरु एजेण्डा बनेर छलफलमा आए बहुमतले निर्णय गर्छ भने सबैले स्विकानुपर्छ ।’

उनले पार्टीभित्र अहिले देखिएको समस्याहरु धेरै कारणले आएको तर्क गरे । ‘कतिपय मनमुटावहरु कार्यशैलीगत कारणले भएका छन्, कतिपय आपसी सल्लाहको कमीले त कतिपय एउटै स्तरको नेताहरु भएकोले पदीय कुरा पनि जोडिएर आएको छ । एकताको महाधिवेशन भएपछि यी विवादहरु टुंगिन्छन् ।’

नेता पण्डितले पार्टीका शिर्ष नेताहरुविच विधि, प्रक्रिया, आत्मलोचना, आलोचनामा मन नमिलेको बताउँदै आलोचना, आत्मलोचना, विधि र प्रक्रियामा गए अहिलेको विवाद समाधान गर्न सकिने तर्क गरे । साथै उनले कतिपय नेताहरुले पार्टीभित्रको विवादलाई टेलिभिजन र पत्रपत्रिकामा छताछुल्ल गर्ने काम गरेको तर्क गर्दै विवादहरुलाई वैठकमा ल्याउनु पर्ने बताए ।

प्रधानमन्त्रीले नेकपाभित्रको विवाद समाधान गर्न किन मार्ग प्रसस्त गर्नु हुँदैन ? भन्ने प्रश्नमा नेता पण्डितले प्रधानमन्त्रीज्यू कसैको कुरा सुन्नु हुन्छ र ? भन्दै प्रतिप्रश्न गरे । ‘प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्ने नगर्ने उहाँको कुरा हो । प्रधानमन्त्री अरुले भन्दिए गर्नु हुन्छ र ? कसैले भनेर हुन्छ र ?, त्यसकारण अहिले यसो गर्नुपर्यो उसो गर्नुपर्यो भनेर भन्दापनि केन्द्रीय कमिटिमा आएपछि बोलूला ।’

सर्वसम्मत र बहुमतले गरेको निर्णय सबैले मान्नुपर्ने नेता पण्डितको भनाई छ । पार्टीभित्र पनि विधि र प्रक्रिया रहेको अवगत गराउँदै कुनै एउटाले भनेको भरमा र गरेको निर्णयमा पार्टी चल्न नसक्ने ठोकूवा गरे । साथै उनले पार्टीभित्र जतिसुकै विवादहरु रहेपनि कम्युनिस्ट पार्टीको नै सरकार रहने विस्वास व्यक्त गरे । ‘अरु कसैको सहयोग लिएर सरकार गठन गर्नु हुँदैन । पार्टी फुटाउनु हुँदैन ।’

उनले पार्टीभित्रको सैद्धान्तिक कुरा गर्ने थलो भनेको महाधिवेशन भएकोले समय र परिस्थिति अनुसार महाधिवशेनको मिति थपघट गर्न सकिने पनि जनाए । ‘केन्द्रीय कमिटिले महाधिवेशनको डेट तोकसकेको अवस्थामा त्यसलाई आवश्यक्ता अनुसार तलमाथी गरेर पार्टी एकतालाई बलियो बनाउँदै पार्टीलाई प्रजातान्त्रिक बनाउँदै संबैधानिक कानुनी ब्यवस्था अनुसार अगाडी बढ्नुको के विकल्प हुन्छ ?’ उनले भने ।

नेता पण्डितले समय र परिस्थिति अनुसार मंसिरमा पनि महाधिवेशन गर्न सकिने संकेत गरे । ‘अरु बेला एक दिन नेपाल बन्द हुँदा कति लस भयो भन्ने वहस हुन्थ्यो । अहिले कोरोना आइकन कति लस भयो ? लकडाउन नहुँदा ५ हजार, ७ हजार जन्ती बोलाएर विहे हुन्थ्यो, अहिले दुई चार जना गएर मोटरसाइकलमा गएर बेहुली ल्याएर पनि विहे हुन्छ नी ! त्यसकारण परिस्थिति अनुसार चल्नु र चलाउनुको विकल्प छैन ।’

नेता पण्डितले आवेग र उत्तेजनामा बोलिएका कुरा र कतिपय आफुले गरेको कुरालाई पुष्टि गर्न फुलवुट्टा भरिएका धारणालाई ठूलो विषय बनाउनाले पनि पार्टीका शिर्ष नेताहरुविच समस्या पैदा भएको जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =