देउवालाई दवाद दिन पौडेल पक्षका केन्द्रीय सदस्यहरुको सानेपामा भेला

काठमाडौं । पार्टीभित्र सभापति शेर बहादुर देउवाले मनमौजी गर्न थालेपछि दवाव दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुसँग आज बैठक गर्दैछन् ।

आज बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यहरुसँग पार्टीको आन्तरिक गतिविधि र मुलुकको समसामयिक राजनीतिबारे छलफल गरिने बताइएको भएपनि वास्तवमा आगामी महाधिवेशनमा देउवा खेमालाई कसरी परास्त गर्ने सन्दर्भमा छलफल हुने छ ।

महाधिवेशन नजिकिएसँगै पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयनलाई तीव्रता दिएका छन् । जसले रामचन्द्र पौडेल पक्षलाई असहज भएको छ । आउँदो महाधिवेशनबाट पुनः एक कार्यकाल सभापति खाने रणनीति अनुरुप देउवाले आफ्ना पक्षलाई समेटिरहेका छन् । देउवालाई सभापतिमा कुनैपनि हालतमा उठ्न नदिने रणनीति अनुरुप पौडेलले आफ्ना निकटका सदस्यहरुसँग रणनीति बनाउन बैठक बोलाएको सानेपा स्रोतको दावि छ ।

सभापति देउवाले पौडेल पक्षको विरोधका बीच गत फागुन १६ गते १३ वटा र फागुन १९ गते ७ वटा गरी २० वटा विभाग गठन गरेका थिए । सभापति देउवाले आफ्नो पकड बनाउन कांग्रेसका विभिन्न विभाग र समितिमा पदाधिकारी र सदस्यको मनोनयन गरेको थाहा पाएपछि त्यसलाई रोक्ने रणनीति बनाउन पौडेलले आज छलफल चलाएका हुन् ।

पौडेल पक्ष पार्टीका विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्थाको व्याख्य गर्दै विभाग गठनको निर्णय खारेजी हुनुपर्ने पक्षमा छ ।

पौडेल पक्षले साउन २ गते आचारसंहिताको व्यावहारिक अभ्यास र पार्टी विधानको परिच्छेद–१२ को दफा ६० को प्रावधानमा टेकेर देउवाका पछिल्ला सबै निर्णय खारेजीको माग गर्दै निर्वाचन समितिमा उजुरी समेत दिएको छ ।

पौडेलको उजुरीको अहिलेसम्म सुनाइ भएको छैन । आजको बैठकमा कार्यकाल सकिएको तरुण दल र साउन १६ मा कार्यकाल सकिने नेपाल विद्यार्थी संघको विषयमा समेत छलफल हुने भनिएको छ ।

साउन १० गतेबाट पार्टीको क्रियाशील वितरण सुरु भएकाले विधानविपरीत क्रियाशील सदस्यता वितरण सुरु गरिएको विषयमा पनि छलफल हुने पौडेल पक्षका एक केन्द्रीय सदस्यले मकालु खबरसँग भने ।

कांग्रेसको आउँदो फागुनमा हुने १३ औं महाधिवेशनको तयारी भइरहेको छ । साउन १० गतेबाट क्रियाशिल सदस्यता वितरण सुरु भइरहेको छ । महाधिवेशनकै तयारीमा पार्टीभित्र तीन गुट तयार भएका छन् । एउटा गुटको नेतृत्व पार्टी सभापति शेर बहादुर देउवाले गरीरहेका छन् भने अर्को गुटको नेतृत्व रामचन्द्र पौडेलले गरेका छन् ।

तेस्रो गुटको नेतृत्व कोइराला परीवारले गर्दै आएको छ । जसमा कृष्णप्रसाद सिटौला, गगन थापा समेत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =