अब महिलालाई हाेइन पुरुषलाई सचेतना दिऊँः शान्ता चौधरी

काठमाडौं । केही समय यता महिलाहरुमाथि एसिड आक्रमणका घटनाहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७१/०७२ देखि २०७६/०७७ सम्मकाे तथ्यांक हेर्ने हाे भने १७ महिला र ४ पुरूषमाथि एसिड आक्रमण भएकाे छ ।
एसिड आक्रमण प्रायः माया प्रेम, विवाह प्रस्ताव, घरायसी समस्यामा बदलाको भावबाट गरेको पाईन्छ । आफूले राखेको प्रस्तावलाई अस्वीकार गरेपछि उसको शरीरलाई कुरूप वा अङ्गभङ्ग बनाउने उद्देश्यले एसिड छ्याप्ने गरेको विगतका तथ्यांकले जनाउँछ । एसिड आक्रमणबाट पुरुषको तुलनामा महिलाहरु धेरै पीडित हुने गरेका छन् ।
किन राेकिँदैनन् महिलामाथि हुने एसिडका घटना ? कडा कानूनी सजाय नभएका कारण यस्ता घटना बढिरहेकाे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद शान्ता चाैधरी बताउँछिन् । कडा भन्दा कडा कानूनी सजाय भएमा यस्ता घटनाका अपराधीहरूकाे मनाेबल घट्ने उनकाे भनाइ छ ।
यस्ताे छ उनकाे धारणाः
एसिड आक्रमण भनेको जघन्य अपराध हो । हामीले जसरी ती अपराधीलाई सजाय दिएर तर्साउनु पर्थ्याे र उसले जुन सजाय भोग्नु पर्थ्याे, त्यो सजाय नपाएका कारण उनीहरूको मनोबल बढेको छ । एसिड आक्रमण जस्तो जघन्य अपराध गर्ने अपराधीहरुलाई यस्तो सजाय होस् कि अर्को चोटी कसैले पनि एसिड प्रहार गर्ने आँट नगरोस् ।
कानुन कार्यान्वयनमा अलिकति फितलो गर्यौं की भन्ने लागेको छ । अब मृत्युदण्ड नै त दिन मिल्दैन । किनकी मानव अधिकारका कुरा गरिरहँदा त्यो अधिकार हामीलाई नहोला । तर, मृत्युदण्डको सजाय भन्दा पनि अझ कठोर र दर्दनाक सजाय होस् । आजिवन कारागार जस्ता सजाय दिने हो भने अर्को अपराधीले महिलामाथि एसिड आक्रमण गर्ने दुस्साहस गर्दैन ।
सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम र दिनुपर्ने सजाय दिएको छ । तर एसिड आक्रमणको केस सरकारसँग मात्र सम्बन्धित भएन । यसलाई न्युनिकरण गर्न त सरकार, समाज सबै जिम्मेवार हुन जरुरी छ ।
त्यस्ता अपराधीलाई कानुन बमोजिमको सजाय दिनका लागी कन्जुस्याईं नगर्ने हाे भने पीडितहरूले न्याय पाउनेछन् ।
जिउँदै मान्छे जलाउनु भनेको त जघन्य अपराध हो । कहिलेकाँही त यस्तो लाग्छ त्यो एसिड फाल्ने मान्छेलाई एसिड नै फाल्नुपर्छ । मन त लाग्छ मृत्युदण्ड नै दिउँ । ति एसिड फाल्ने हातहरु नै भाचिदिउँ । तर, मृत्युदण्ड त हाम्रो कानुनमा छैन । अपराधीले अपराध गर्यो भने आफू पनि सोही बाटोमा हिँड्न सकिँदैन ।
एसिड आक्रमणकारीलाई आजिवन कारागारको सजाय दिनुपर्छ । त्यस्तो सजाय छैन भने पनि कानुन संशाेधन र परिमार्जन गरी साे व्यवस्था लागु गर्नुपर्छ । हामी कानुन बनाउने ठाउँमा छाैँ । कानुन संशाेधन र परिमार्जन गरेर सजायको व्यवस्थापन गर्नेछाैँ । यो कुरामा अहिले व्यापक छलफल भईरहेको छ ।
विगतको तुलनामा अहिले महिला हिंसा हदसम्म केही कम भएको छ । ठुल्ठुला परिवर्तनहरु भएका छन् । तर महिला हिंसाका घटना न्युनीकरण भने हुन सकेका छैनन् । पितृसत्तात्मक सोच र चिन्तनले जरा गाडेको देश भएको कारण नेपाली महिलाहरु दोस्रो दर्जाको रुपमा रहेका छन् । महिला हिंसा कम गर्ने हो भने हाम्रो सामाजिक, साँस्कृतिक क्षेत्रमा पनि परिवर्तन गर्न आवश्यक छ । त्यसका लागि महिला हिंसाविरुद्ध सचेतना फैलाउनु आवश्यक छ ।
दुखःका साथ भन्नुपर्छ देशमा लोकतन्त्र, गणतन्त्र आएको छ । महिला राष्ट्रपति हुनुहुन्छ । धेरै ठूल्ठुला परिवर्तनहरु भए । तर, यति धेरै परिवर्तन हुँदापनि महिलाहरु अझै जिउँदै जल्नुपर्ने परिस्थिति छ । दिनहुँ बलात्कृत हुनुुपर्ने अवस्था छ । दाईजो प्रथा, बोक्सी लगायतका प्रथाबाट पिडित हुनुपर्छ । सामाजिक, पारिवारिक कू-संस्कारका कारण महिलामाथि हुने विभेद नरोकिँदा हाम्रो संविधान, नियम कानुनमाथि नै प्रश्न चिन्ह उठिरहेको छ ।
महिला हिंसा तथा एसिड आक्रमण महिलाको मात्र समस्या हाेइन, यो सिङ्गो देश, समाज र नागरिकको समस्या हो । यस्ता खालका घटना घट्नुमा कतिपय अवस्थामा हामी आफैं पनि जिम्मेवार छाैँ । एउटै घर परिवारमा पनि महिला पुरुषप्रति विभेद गरिन्छ । छोराछोरीमाथिको भेदभावले पनि यस्ता घटनाहरु घट्न प्रेरित गरेको हुन्छ ।
अब महिलाहरु जाग्नुुपर्छ, अधिकारका लागि लड्नुपर्छ, उठ्नुपर्छ भनेर हामीले महिलाहरुलाई मात्र सचेत गरायाैँ । महिलाहरु माथी हुने हिंसाको लागि महिलालाई मात्र फोकस गर्यौँ । पुरुषलाई समावेश गर्न सकेनौँ । गल्ती यहाँनिरै भयो ।
महिला हिँसा अन्त्य गर्न र महिलाहरुको अधिकार सुनिश्चित गर्न महिलालाई मात्र होईन पुरुषलाई पनि केन्द्रित गर्नुपर्छ । सचेतना दिनुपर्छ । महिला अधिकार, महिलाका कानुनका विषयमा पुरुषहरुलाई प्रशिक्षण दिनुपर्छ । तब मात्रै महिला हिंसाका घटनाहरु न्युनिकरण हुन्छन् । पुरुषले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ ।








