‘महिलामाथि एसिड प्रहार संसारकै जघन्य अपराध हो, अपराधीले उन्मुक्ति पाउनु हुन्न’

काठमाडौं । महिलामाथि दिन प्रतिदिन बढिरहेको हिंसाका घटना न्युनिकरण गर्न राज्य कमजोर भएको हो कि कानुन कमजोर भएको हो ? भनी पूर्वराज्यमन्त्री भगवती चौधरीले प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीले पछिल्लो समय महिलाहरुमाथि विभिन्न वहानामा हुने एसिड आक्रमणको घटना संसारकै जघन्य घटनाका रुपमा चित्रित गरेकी छन् ।
उनले मुलुकको न्यायिक क्षेत्र कमजोर भएर होकी कानुन कार्यान्वयनका पक्षबाट कमजोरी भएर हो महिलामाथि दिनप्रतिदिन एसिड फ्याक्ने अपराध बढेकोमा चिन्ता व्यक्त गरेकी छन् । उनले केहि दिन अघि काठमाडौंको सितापाइलामा २२ वर्षिय युवती पवित्रा कार्की र गतवर्ष विरगंजमा १५ वर्षिय किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमणको घटना समेत स्मरण गर्दै कुनैपनि वहानामा महिलामाथि एसिड प्रहार गर्नु संसारकै जघन्य अपराध भएको जिकिर गरेकी छन् ।
‘कुनैपनि वहानामा एउटी निर्दोष नारीमाथि उसलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याउने गरी एसिड आक्रमण गर्नु संसारकै निकृष्ट अपराध हो ।’ नेतृ चौधरीले भनेकी छन् । उनले नेपालको कानुन कमजोर भएर पो मुस्कान खातुन र पवित्र कार्की जस्तामाथि दिन दहाडै एसिड आक्रमण भएको होकी भन्दै प्रश्न उठाएकी छन् । महिलामाथि हुने जघन्य अपराधमा कानुनी कारवाही फितलो भएर पनि महिला हिंसाका घटना बढिरहेको हुन सक्ने नेतृ चौधरीको बुझाई छ ।
‘समाजमा कुनैपनि प्रकारको महिला हिँसा आफैंमा ठूलो अपराध हो, त्यसमाथि कसैको जिवन नै सिध्याउने गरी एसिड प्रहार गर्ने घटना झनै दण्डनीय छ । कानुन कार्यान्वयन गर्ने सिलसिलामा यस्ता अपराधीलाई कुनैपनि प्रकारको सहानुभूति जताउन हुँदैन ।’ चौधरीले भनिन् ।
उनले हाम्रो सामाजिक, आर्थिक, राजनीतिक, सास्कृतिक धरालतको कमजोरीले पनि महिलाहरुमाथिको हिंसा बढेको जिकिर गरेकी छन् । महिलाहरुमाथि हुने कुनैपनि शारिरीक, मानसिक यौनिक हिँसाका विषयमा महिला पुरुष दुवै मिलेर खुल्ला बहस र छलफल गरी समृद्ध, सुसंस्कृत समाज निर्माणमा लाग्नु पर्ने नेतृ चौधरीको जोड छ ।
चौधरीले नेपालको पछिल्लो संविधान मानव अधिकार, महिला तथा बालबालिकाको हक अधिकार संरक्षणमा दक्षिण एशियामै उत्कृष्ट भएपनि कानुन कार्यान्वयनको पाटोमा कमजोर रहेको जनाएकी छन् । ‘कानुन र संविधानका अक्षरहरुमा महिला तथा बालबालिका माथि हुने हिंसात्मक घटनामा अपराधीलाई दण्ड सजाय दिन जति नै कठोर शब्दहरु लेखिएपनि त्यसलाई व्यवहारतः उतार्न सकिएन भने त्यो कानुन कोरा कागज मात्र हुन्छ ।’
उनले मुस्कान खातुन, पवित्रा कार्की जस्ता किशोरीहरु दिउसै असुरक्षित हुनुको कारण हामीले निर्माण गरेको ऐन कानुन पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेरै रहेको दावि गर्दै कानुन निर्माता र कानुन पालकले महिलामाथि हुने कुनैपनि हिंसाका घटनामा गम्भिर भएर कार्यान्वयन तहमा जाने हो भने यस्ता घटना न्यूनिकरण गर्न सकिने बताइन् । ‘महिलामाथि हुने कुनैपनि विभेद र हिंसा न्यूनिकरणको सबैभन्दा बलियो उपाय भनेको सामाजिक सचेतना नै हो । महिला भनेका चुल्हो चोको गर्ने वस्तुहरु मात्र हुन भन्ने सोचले ग्रस्त समाजलाई बदल्न सके मात्र यस्ता घटनाहरु न्युनिकरण गर्न सकिन्छ ।’
उनले महिला हिंसा न्युनिकरण गर्न सबैले आ–आफ्ना क्षेत्रमा सामाजिक अभियान चलाउन पर्ने बताएकी छन् । चौधरीले राजनीतिज्ञले कानुन तथा नीति निर्माण गर्ने ठाउँमा खबरदारी गर्दै कानुन कार्यान्वयनमा दवाव दिने, सामाजिक अभियान्ता, सुरक्षाकर्मी, न्यायकर्मीले समाजमा यस्ता निन्दनीय कार्य गर्नेलाई कस्तो कानुनी सजाय हुन्छ सचेतना दिने, कलाकार, सेलिब्रेटी, अधिकारवादीले पनि आ–आफ्ना स्थानबाट महिला–पुरुषविचको असमानताका खाडल पुर्न र महिला पुरुष बराबरी भन्ने अभियान चाल्नु पर्नेमा जोड दिएकी छन् ।
उनले एसिड आक्रमणबाट घाइते भई बर्न अस्पताल किर्तिपुरमा उपचाररत पवित्रा कार्कीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मा नेपाल सरकारलाइ लिन र पिडितलाई न्याय दिन पिडकलाई हदैसम्मको कानुनी सजायको माग पनि गरेकी छन् ।








