फेरि चर्कियो नेकपाभित्रको घर-झगडा, आखिर किन बिच्किए प्रचण्ड ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद फेरि चर्किएको देखिएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको खेमाबीच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप चल्नुले पनि फेरि विवाद चर्किएको छर्लंग भएको हो ।

झन्डै एक महिना अगाडि सुरु भएको स्थायी कमिटी बैठक लगातार स्थगित गरेर त्यसबीचमा दर्जन बढी आपसी संवाद गरेका नेकपाका दुई अध्यक्षबीच अझै सहमति भएको छैन् । सम्पूर्ण अधिकार आफ्नो हातमा रहे पनि ओली र प्रचण्ड नेकपाभित्रको बबन्डर शान्त पार्न किन असफल ? यसबारे सर्वत्र चासो बढेको छ ।

दाहाल र नेपालले असार १६ यता ओलीको राजीनामा माग गर्दै आएका छन् । गत शनिबारको सचिवालय बैठकमा ओलीले गरेको पार्टी एकताको महाधिवेशन मंसिरमै गर्ने प्रस्तावमा भने दाहाल सकारात्मक देखिएका थिए । त्यसले नेपालसँगको सम्बन्धमा अविश्वास पैदा गरेको थियो ।

सार्वजनिक रूपमा आरोप-प्रत्यारोप
नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे । त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे । त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए ।

दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे । यसले नेकपामा किचलो कायमै रहेको देखाएको छ । दाहाल र नेपाल दुवैजना ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए । प्रचण्डले त यतिसम्म भने- ‘पार्टी बैठक चलिरहेका बेला ओलीले नेकपा एमालेको नाममा पार्टी दर्ता गराए ।’

त्यसपछि प्रधानमन्त्री ओली निकट नेताहरू सार्वजानिक रूपमा त्यसको प्रतिवादमा उत्रिएका छन् । लिम्पियाधुरा सहितको नक्सा आफूहरूले समयमै प्रकाशित गर्न लगाएको समेत प्रचण्डले बताएका थिए । त्यसको प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको प्रतिवाद गरे ।

यसअघि निर्धारित समयभन्दा अघि महाधिवेशन गरेर प्रचण्डलाई अध्यक्ष बनाउन तयार रहेको प्रधानमन्त्रीको प्रस्तावपछि त्यो सङ्कटले नयाँ मोड लिएको देखिएको थियो । तर प्रधानमन्त्रीले त्यसको निम्ति पूर्वएमालेको जनताको बहुदलीय जनवाद जबज स्वीकार गर्न आग्रह गरेपछि प्रचण्ड बिच्किएका हुन् ।

अब प्रधानमन्त्रीले कुनै वैकल्पिक बाटो नदिएमा साउन १३ गते बस्ने स्थायी समितिबाट प्रक्रियामा अघि बढ्ने र बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड पक्ष पुगेको नेताहरूको भनाई छ ।

स्थायी समिति वा केन्द्रीय समिति जहाँबाट भए पनि प्रक्रियागत रूपमा अघि बढेमा बहुमतको आधारमा निर्णय गर्नुपर्ने अवस्था आउने देखिन्छ । प्रधानमन्त्रीको विपक्षमा पूर्वएमाले पृष्ठभूमिका अन्य वरिष्ठ नेताहरूले देखाएको अडान प्रचण्डका निम्ति प्रधानमन्त्रीविरुद्ध बहुमतको बल प्रयोग गर्ने आधार बनेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =