ओलीकै सक्रियतामा एमाले दर्ता भएकाे हाे, पार्टी संकटमा छ: प्रचण्ड (भिडियोसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले दल दर्ता हुनुमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको बताएका छन् ।
शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा बाेल्दै अध्यक्ष दाहालले यस्ताे बताएका हुन् । कार्यक्रममा उनले भने, ‘पार्टीको बैठक चलिरहेकै बेलामा नेकपा एमाले दल दर्ता भएकाे छ । अध्यक्ष केपी शर्मा ओलीकै सक्रियता र पहलमा एमाले दर्ता भएको हाे ।’ पार्टी संकटमा रहेको अध्यक्ष दाहालकाे भनाइ छ ।
यस्तै प्रचण्डले बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत उल्लेख गरे । उनले कार्यकर्ताले आफूलाई समेत के गर्ने भनेर सोधेको बताउँदै आफु पार्टी एकताको पक्षमा रहेकाले धैर्यता गर्न आग्रह गरेको बताए । उनले भने, ‘अहिले बिहान बेलुकी के त्यस्तो अन्हुनी हुने हो, के नराम्रो समाचार सुन्नुपर्ने हो भन्ने अवस्था आयो ।’
अध्यक्ष प्रचण्डले नेकपामा सामूहिक नेतृत्व भनिए पनि त्यस्तो नभएका कारण दुई वर्षसम्म केन्द्रीय समितिको बैठक बस्न नसकेकाे पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको उनकाे भनाइ छ ।
भिडियाेः
https://www.facebook.com/prachanda.nepal/videos/667125143880453/?t=30








