पुष्पलाल, जसले जनताको स्वतन्त्रताका लागि जीवनभर संघर्ष गरे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड-१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।

उनका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । ‘यसपटक हामीले कोभिड–१९ का कारणले ठूलो कार्यक्रम गर्न असमर्थ भयौँ’, उनले भने, ‘तैपनि प्रतिष्ठानकै आयोजनामा स्मृति पार्कमा रहेको सालिकमा श्रद्धाञ्जलीसभाको कार्यक्रम भने राखेका छौँ ।’

उक्त कार्यक्रममा पुष्पलालको सालिकमा माल्यापर्ण र प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सभामा मन्तव्य राख्ने छन् । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो ।

पिता भक्तलाल रामेछापमा मालका सुब्बा थिए, पछि छोराका कारणले बुबाको जागिर खोसिएको थियो । आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् ।

फाइल फोटो

उनले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो ।

यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।

पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए ।

उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । २०७५ जेठ ३ गते भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिली पुनः अहिले त्यही नेकपा पार्टी बनेको छ ।

उनको विचार र दर्शनका आधारमा आज नेकपाले आर्थिक समृद्धिको नारासहित दुई तिहाइ जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ । देश र जनताप्रति समर्पित हुने, सिद्धान्तनिष्ठ, अनुशासित र सङ्घर्षमा रमाउने पुष्पलालबाट कोरिएको नेकपाको मार्गचित्रबाट नयाँ नेपाल निर्माण हुने विश्वास लिइएको छ ।

वामपन्थी नेत्री शान्त मानवीले पार्टीको जग सही दिशामा जान नसकेको भन्दै पुष्पलालका आदर्श र विचारलाई सधैं आत्मसात् गर्नुपर्ने बताइन् । उनले आफ्नो आदर्श व्यक्ति पुष्पलाल भएको भन्दै त्यतिबेलाको पार्टीमा अनुशासन, हार्दिकता अहिले आफूले नपाएको बताइन् ।

‘म पुष्पलालको सिद्धान्तबाट प्रेरित भएर कम्युनिष्ट बनेको थिएँ । त्यतिबेला पार्टी सिद्धान्त र व्यवहारलाई जोडेर सञ्चालन भएका थिए’, उनले भनिन्, ‘तर अहिले पार्टीको सिद्धान्त र व्यवहारमा जोडिएका छैनन् ।’

कम्युनिष्ट घोषणापत्रको नेपाली रूपान्तरण गर्दै पुष्पलालले ‘केही कुरा’ शीर्षक दिएर लेखेका थिए । घोषणापत्रमा उनले भनेका थिए, ‘विश्व मजदूर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने उक्त घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथाशक्य परिश्रम गरी नेपालीभाषामा उल्था गरी नेपालको सम्मान राखेको छु ।’

यसलाई नेपाली माक्र्सवादीले माक्र्सवादी चेतना र साहित्यको थालनीका रूपमा समेत अर्थ्याएका छन् । दाजु गङ्गालको हत्यापश्चात् राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गरेका थिए । त्यतिखेर उनी १५ वर्षका किशोर थिए ।

निरङ्कुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी पुष्पलाल राजनीतिज्ञ मात्रै नभएर इतिहास, समाजशास्त्र, मानवशास्त्रका विषयमा समेत ज्ञाता थिए ।

५७ वर्ष अघि मुलुकको पहिलो निर्वाचित सरकार र संसद माथि ‘कु’ गरेर राजा मेहन्द्रले सैन्यबलमा शाही निरंकुशता सुरु गरे । प्रजातन्त्रवादीहरु त्यसैले पुष १ लाई कालो दिनका रुपमा चिन्छन् । २०१७ साल पौष १ गते घटित त्यो कालो काण्डपछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरे ।

यस्तै स्मृति दिवसका अवसरमा काठमाडाैँ महानगरपालिका वडा नं १८ मा बनेको पुष्पलाल स्मृति पार्कको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेकपा केन्द्रीय कमिटीले भने स्मृति दिवसका अवसरमा कुनै कार्यक्रम नराखेको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =