धुम्बाराहीमा नेकपा नेतृत्वलाई खबरदारीः जनविश्वासमाथि कुठाराघात नगर !

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी र मजदुर संगठनले पार्टी विभाजन गर्न नहुने तमासा बन्द गर्न शीर्ष नेताहरुलाई सुझाएका छन् ।
उनीहरुले पार्टी कार्यालय अघि धर्ना दिँदै ‘एमसीसी खारेज गर, व्यक्ति होइन पार्टी नीति प्रधान पार्टी निर्माण गरौं, फुटवादीहरु होसियार, तिमी पार्टी मान्दैनौं ? पार्टी नमान्नेलाई हामी नेता मान्दैनौं, नागरिकता विधेयक पारित गर, पार्टी एकता जिन्दावाद, जनविश्वासमाथि कुठाराघात नगर, जनसमुदायमाथि भर पर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित नाराबाजी गर्दै नेतृत्वलाई खबरदारी गरेका थिए ।
अखिल नेपाल महिला संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवासंघ नेपालले खबरदारी गर्दै आज (सोमबार) पार्टी केन्द्रीय कार्यालमा ज्ञापनपत्र समेत बुझाएका छन् । पार्टी विभाजन स्वीकार्य नभएको भन्दै विभाजनमा नलाग्न नेतृत्वलाई खबरदारी गर्न उनीहरुले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच असमझदारी बढ्दै जाँदा पार्टी फुटको संघारमा उभिएको छ । पार्टी फुट्न नहुने भन्दै नेकपाका नेता/कार्यकर्ता सक्रिय भइ नेतृत्वलाई मिल्न दबाब दिन थालेका छन् ।
यसअघि असार १९ गते नेकपाका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका थिए । पार्टीमा बिग्रह गर्नुपर्ने कारण नै नभएकाे उनीहरूकाे भनाइ थियाे । समस्याको समाधान पार्टी विधानभित्रैबाट खोज्नुपर्ने उनीहरूकाे सुझाव थियाे ।








