बालबालिका, मृगाैला राेगी तथा बृद्धाहरूलाई पाैष्टिक आहार वितरण

धरान । धरान उपमहानगरपालिका वडा नं. १८ ले मृगौला पीडित बिरामी र तीन बर्षका ६९ जना बालबालिकालाई पौस्टिक आहार बितरण गरेको छ । सोमबार धरान १८ स्थित वडा कार्यालय परिसरमा भौतिक दुरि कायम गरि पौष्टिक आहार वितरण गरीएको हो ।
लकडाउनको कारण मिर्गौला डायलोसिस गर्न ढिलाई भइ घर जान नपाएका १९ जनालाई राहत प्रदान गर्नुका साथै तीन बर्ष मुनिका ६९ जनालाई पौष्टिक आहार बितरण गरिएको धरान १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रबिण)ले बताए ।

लकडाउनका कारण हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरु ४ महिना देखि १६ महिना सम्म डायलोसिस सेवाको लागि बसेका छन । वडाध्यक्ष राईका अनुसार ती विरामीहरुलाई राहत स्वरुप १० केजि चामल, १ केजि नुन, १ पोका तेल, १ केजि आलु, १ केजि चना, १ केजि दाल र आधा केजि न्युटेला प्रदान गरिएको छ ।
लक्डाउनको यो परिस्थिति आए देखि नै धरान–१८ ले विभिन्न कारणले विपदमा परेकालाई सहयोग गर्दै आएको छ । विगतको समयमा वडाले राहत दिएर सहयोग गर्दै आएको छ । सोही कार्यक्रममा असार १५ नेपाली परम्परा अनुसार दहि चिउरा खाने दिन समेत परेकोले वडाले दहि चिउरा समेत खुवाइएको थियो ।

वडाले हरेक एक दिन विराएर धरान १८ वडा क्लस्टरमा पर्ने ३ वर्ष मुनिका ७९ बच्चाहरुलाई पौष्टिक आहार असार १४ गते सम्म गरेको थियो । वडाध्यक्ष राईका अनुसार वडाको राहत कोषमा बचेको बजेटबाट ३ वर्ष मुनिका बच्चाहरुलाई १० दिन लगाएर वडाभरी पौष्टिक आहार वितरण गरिएको हो ।
करिब १ लाख १० हजार बराबरको पौष्टिक आहारमा दुध, पिठो र फलफुलका परिकारहरु थिए । वडाले लकडाउनको परिस्थितिमा विशेषगरी बृद्ध र बालबालिकालाई मध्यनजर कार्यक्रमहरु तयार पारेको छ । बृद्धहरुको पाचन प्रणालीलाई सक्रिय बनाउनको लागि हर्लिक्स जस्ता पौष्टिक आहार र भिटामिन घरघरमै पुर्याएर वितरण गरिएको थियो ।
तस्विरः सञ्जय याक्खा










