नेपाल छिरेको सलहको अबको यात्रा पश्चिमतर्फ !

काठमाडौं । पूर्वानुमान विपरित नेपालको तराई क्षेत्रमा भित्रिएको सलह किराको बथान क्रमशः पश्चिमतर्फ सर्दै जाने अनुमान गरिएको छ । हावा जता बहन्छ सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो ।
पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने र सलह पनि हावासँगै त्यतैतर्फ जाने भएकाले अबको यसको यात्रा पश्चिमतिर हुन सक्ने मौसमविदको अनुमान छ । केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । त्यसैले भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान छ । सोमबार र मंगलबार भने पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुने मौसमविदको भनाइ छ ।
पाकिस्तान, भारत हुँदै तराई मधेशका जिल्लामा प्रवेश गरेका सलह भित्री मधेश हुँदै पहाडी जिल्लाहरुमा समेत फैलिसकेको छ । हावाको दिशा र गतिका आधारमा सलहको यात्रा एकिन गरी सतर्कताका उपाय भने अपनाउन सकिने जानकारहरु बताउँछन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो वर्ष नेपालमा सलहको प्रवेश नहुने निष्कर्ष निकालेको थियो । मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा मरुभूमि सलहबारे अध्ययन गर्न विशेष कार्यदल गठन भएको थियो ।
कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो । भारतको मध्यप्रदेशबाट आएको सलह फेरी राजस्थानतिरै फर्किएको, हावाको वहाव नआएको, झरी सुरु भैसकेकाले याे वर्ष सलह नआउने कार्यदलको निश्कर्ष थियो । तर कार्यदलको निष्कर्ष गलत सावित भएको छ ।








