डुबानमा परेका स्थानीय भन्छन् -‘राहतमा पाएको च्यातिएको त्रिपाल छ’

सुजता लिम्बू-
विराटनगर । पछिल्लो समयको लगातार वर्षाका कारण विराटनगरका अधिकांश भू–भाग जलमग्न भएका छन् ।
गए रातिदेखि निरन्तर पानीले विराटनगरका खोला किनारका बस्तीहरू डुबानमा परेका छन् । वर्षाको कारण खोलाको बहाव बढेसँगै कटहरी– १ सिङघिया खोला किनारका स्थानीय बासीहरु विस्थापित भएका छन् ।

‘सहरमा बस्ने पैसा छैन, यही खोला किनारमा बस्नु रहर कहाँ होर ? बाध्यता हो’ ६० वर्षीय दिलसरिया पासवानले भनिन् । उनी र उनको ६ जनाको परिवार कटहरी–१ टाइगर चोकमा ११ वर्षदेखि बस्दै आइरहेका छन् ।

श्रीमान् ठेला चलाउँछन्, त्यहीँबाट रोजीरोटी चलिरहेको उनले बताइन् । भर्खरै कोरोनाको त्राससँगै लामो समयको बन्दाबन्दीको डुबानमा परेको आर्थिक अवस्था फेरि बर्खाको डुबानले डुबाउन लागेको एकै श्वासमा उनले गुनासोको पोका फुकाइन् । गत सालको बाढीले लगाएको लुगा र ज्यान मात्रै जोगाउन पाएको अनुभव उनले सुनाइन् ।

शनिवार बिहान ५ बजे लगातार परेको पानीले खोला बढेसँगै उनको घरभित्र पानी पसेकाले उनी परिवारसँग घर छोडेर भागेको उनले सुनाइन् । उनले भनिन्, ‘पोहोर सालको ठुलो बाढीको बेला राहतमा पाएको त्रिपाल छ, त्यहीँ त्रिपाल टाँगेर बसेका छौ ।’
उनको जस्तै पिडा छ, सोही स्थानकी प्रमीला सरदारको, उनी भन्छिन् ‘ठुलो बाढीमा राहतमा दिएको त्रिपाल पनि च्यातिएको छ, त्यही टाँगेर बसेका छौ, के गर्ने ज्यान त जोगाउन पर्योनी ?’

खोला बढेसँगै वर्षेनी डुबानको सास्ती भोग्नु उनीहरूका लागि सामान्य नै भई सक्यो । गत वर्ष गएको बाढीले भाँडा, लुगा कपडा सबै बगाएर लगेको सरदारले सुनाइन् । उनी भन्छिन्,‘नेताहरू खालि भोट माग्न मात्रै आउँछन्, हाम्रो समस्या हेर्न कहिले आएनन् ।’

खोला किनारमा बसोबास गर्ने ८० घरले वर्षेनी बाढी, डुबानको समस्या भोग्नु परेको स्थानीयवासी गोपी सिंहले जनकारी दिए ।
उनका अनुसार उक्त स्थानमा अधिकांश रोजीरोटीका लागि दैनिक ज्याला मजदुरी गर्नेहरूको बसोबास रहेको छ । खोलाको बहाव बढेसँगै अधिकांश मानिसहरू सुरक्षित स्थानमा सरिसकेको उनले जानकारी दिए ।










