काेराेना संक्रमितकाे शव व्यवस्थापनमा स्थानीयकाे अवराेध, टायर बालेर विरोध !

पोखरा । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गुमाएका मृतकको शव व्यवस्थापन गरिएको छ । गएराति उपचारका क्रममा ज्यान गुमाएका स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको शव स्थानीयको अवरोधका बिच व्यवस्थापन गरिएको हो ।
पोखरा महानगरले उक्त शव वडा नं ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्नका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाटनजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गर्दा झडप भएकाे हाे ।
स्थानीयले टायर बालेर बाटो अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएकाे थियाे । स्थानीयको भीड व्यवस्थापन गर्ने क्रममा झडप समेत भएको हाे । झडपका क्रममा एक दर्जन बढी घाइते भएका छन् ।
यद्यपि नेपाली सेनाले शव व्यवस्थापन भने गरिसकेको छ ।








