ट्रस्टको जग्गा भाडा प्रकरणमा कांग्रेसको प्रश्नः मुलुकका लागी यो भन्दा बदमासी के हुन सक्छ ?

पुस ४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागले पछिल्लो समय सराहनिय काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेता कोइरालाले सरकारी जग्गा हडप्न सरकारकै मन्त्रीहरु सक्रिय रहेको आरोप लगाउँदै ती विषयमा पार्टीले संसद र सडकबाट कडा विरोध गर्नुपर्ने बताए ।

आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुक वालमा एक स्टाटस राख्दै उनले लेखेका छन्, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संसोधन गरेर यति होल्डिङ्सलाई दिएको छ। राज्य दोहनको चरम उदाहरण हो यो। मुलुकका लागी यो भन्दा बदमासी के हुन सक्छ ?’
यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसॅग प्रश्न गर्ने समय आएको उनको भनाइ छ ।
यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघा भन्दा बढि जग्गाका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी नदेखिएको उनको दाबी छ ।
उनले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारबाट नीजि क्षेत्र पोस्नेगरी भएको निर्णय राज्य दोहन र बदमासी गरेको विषयमा जनताहरु चुप बस्न नमिल्ने बताए ।








