खैरहनी नगरपालिकाको नयाँ अभ्यास, स्वयंसेवक शिक्षकलाई काम

मंसिर ३, चितवन । चितवनको खैरहनी नगरपालिकाले स्वयमसेवक शिक्षक नियुक्त गर्न सुरु गरेको छ ।
कुनै पनि शिक्षक बिरामी हुँदा, सुत्केरी बिदामा बस्दा विद्यालयको पठनपाठन प्रभावित नहोस् भनेर उनीहरु (विरामी परेका, सुत्केरी बिदा बसेका शिक्षक) नआउँदा सम्म नगरपालिकाले स्वयम् सेवक शिक्षक राख्ने व्यवस्था सुरु गरेको हो । यसले शिक्षकको अभाव पूर्ती हुनुका साथै शिक्षाको गुणस्तर विकासमा समेट टेवा पुग्ने खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले बताए ।
स्वयमसेवक शिक्षक नियुक्त गर्ने खैरहनी नगरपालिका संभवत पहिलो स्थानीय सरकार हो ।

कुनै पनि विद्यालयमा शिक्षक नभएकै कारण पठनपाठन प्रभावित हुने अवस्था थियो स्थानीय शिक्षा अधिकारी पौड्यालले भने, ‘स्वयम सेवक शिक्षकले त्यस्तो अभाव पूर्ती गरि नियमित पठपाठन हुनेछ । शिक्षकहरु विरामी विदा र सुत्केरी विदा वस्दा पठनपाठनमा समस्या हुदै आएको थियो । स्वयम सेवक शिक्षक नियुक्त गर्न कार्यविधि वनाएरै यस्तो निर्णय लागू भएको हो ।’ पौड्यालका अनुसार प्राप्ताङ्कका आधारमा छनौटको प्रक्रिया र प्राथमिकता निर्धारण गरिने कार्यविधि बनाइएको र सर्टिफिकेटमा लिएको नम्बर वा जीपीएलाई आधार मानेर शिक्षक छनौट भएका छन् ।
आधारभूत र माध्यमिक तहमा सूचीकृत भएका स्थानीय युवाले स्वयंसेवक शिक्षक हुन पाउनेछन् । स्वयंसेवक शिक्षकका लागि नगरपालिकाले आधारभूत तह दश हजार र माध्यमिक तह भएमा मासिक १५ हजार यातायात खर्चका रूपमा भुक्तानी गर्ने खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले वताए । स्वयंसेवक शिक्षकले एकदेखि तीन महिनासम्म पढाउन पाउने भए पनि आवश्यकता अनुसार करार सम्झौताको नवीकरण पनि हुनसक्ने मेयर चौधरीको भनाइ छ ।
स्थानीय बिस्मिता तामाङसँग नगरपालिकाले पहिलो पटक आधारभूत स्वयंसेवक शिक्षक नियुक्तिको सम्झौता गरेको छ । उनलाई कार्तिक २९ गतेदेखी लागू हुने गरि गवै माध्यमिक विद्यालयमा नियुक्त गरिएको हो । काम गर्ने अवसर पाएको भन्दै तामाङले खुशी व्यक्त गरिन् ।
नगरपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयका लागि पहिलो चरणमा आधारभूत तहमा १४ र माध्यमिक तहमा ६ जना युवाले स्वयंसेवक शिक्षक हुन पाउँ भनी सूचीकृत भएका छन् ।
नगरपालिकाले चालु आर्थिक वर्षमा स्वयंसेवक शिक्षक कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।








