चितवनमा राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै, प्रचण्डद्वारा उद्घाटन गरिने

मंसिर ४ गते । चितवनको भरतपुरमा यही मंसिर ६ गतेदेखी चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी हुने भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, प्रदेश ३ को भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सयुक्त आयोजनामा प्रर्दशनी हुन लागेको हो ।
भरतपुर स्थित चितवन एक्स्पो सेन्टरमा मंसिर ९ गते सम्म चल्ने प्रर्दशनीका बारे बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । यसअघि प्रथम कृषि यान्त्रिकरण प्रर्दशनी पनि चितवनमै भएको थियो । चौथो प्रर्दशनीको पूर्व प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गर्ने नेपाल मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले बताए ।

उनका अनुसार प्रदर्शनी कृषिको आधुनिक प्रविधि, कृषि औजार, यन्त्रका बारे एकै थलोमा जानकारी लिन सकिने छ । प्रदर्शनीमा अर्न्तराष्ट्रिय स्तरबाट समेत कृषिको यन्त्र, औजार, उपकरण ल्याईने उनले बताए । २० भन्दा बढि देशबाट प्रदर्शनीमा सहभागीता रहनुका साथै १ सय भन्दा बढी स्टल रहने नेपाल मेशिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्माले जानकारी दिए ।
७० जिल्लाबाट करिव ३५ हजार भन्दा बढिले प्रदर्शनीको अवलोकन गर्नुका साथै १० करोड भन्दा वढिको कारोवार हुने शर्माको दावी छ । निति निर्माता तथा कृषकहरुलाई कृषि यन्त्र तथा प्रविधि सम्वन्धी जानकारी गराउने, कृषि यान्त्रिकरण प्रविधि तथा सेवाको आन्तरीक बजार प्रर्वधनमा योगदान पुर्याउने, कृषि यान्त्रिकरण व्यवसायी र कृषकबीच समन्वय गर्ने, लगानीको अवसर सिर्जना गर्ने, नेपालको कृषिलाई यान्त्रिकरण मार्फत व्यवसायिकरण गरि आधुनिक कृषि प्रणालीको विकास गर्ने प्रदर्शनीको उदेश्य रहेको छ ।








