सीमा अतिक्रमणको पराकाष्ठः प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब

कात्तिक ३०, काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा १९५ नम्बरको सीमास्तम्भ ढलेको छ भने १९६ नम्बरको सीमास्तम्भ वर्षौँदेखि भारतीय पक्षले गायब पारेका छन् ।
दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन् ।
दुई लाख ५० हजार वर्ग मिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन अतिक्रमण गर्न ‘भारतीयहरूले १९५ नम्बर पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको’ वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए ।
null
‘पिलर भत्काएर जैविक विविधताले भरिएको प्याराताल भारतले कब्जा गर्न खोजिरहेको छ,’ उनले भने, ‘प्याराताललाई लिएर हरेक वर्ष भारतीय पक्षले नेपाली बस्तीमा आएर दुःख दिने गरेको छ ।’
प्यारातालमा माछा मार्न पहिले जिल्ला विकास समिति कञ्चनपुरले ठेक्कामा दिँदै आए पनि पछिल्लो समय भारतीय सीमा सुरक्षाकर्मीले सो क्षेत्र ‘भारतीय भूमि’ रहेको दाबीसहित ठेक्का लगाउन रोक लगाउँदै आएका छन् ।
प्यारातालभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ १९५ र १९६ नम्बरको सीमास्तम्भ रहेको बताउँदै जैसीले भने, ‘सीमादेखि वरै नेपालतर्फ रहेको प्याराताल कसरी भारतले आफूहरूको भनिरहेको छ ? हामी आश्चर्यमा परेका छौं ।’
यो समाचार आजको नागरिक दैनिकको फ्रन्ट पेजमा छापिएो छ ।








