गृहमन्त्रीलाई प्रधानमन्त्रीको २४ घण्टे स्पष्टीकरण !

“
काठमाडौँ, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई २४ घण्टे स्पष्टिकरण सोधेका छन् । बैंककमा हुने कार्यक्रममा सहभागी हुन जान लागेका लेनिन बिष्टलाई अध्यागमनमा रोकिएको विषयमा प्रधानमन्त्री ले स्पष्टिकरण सोधेका हुन् ।
तत्कालीन माओवादी द्वन्द्वमा सहभागी भएका पूर्व बालसैनिक विष्टलाई अध्यागनमका कर्मचारीले रोकेका थिए । यहि विषयमा प्रधानमन्त्री ओलीले गृहमन्त्री थापासँग स्पष्टिकरण मागेका हुन् ।
गएको शुक्रकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागनमका कर्मचारीले बिष्टलाई रोकेका थिए । विष्ट थाइल्याण्डको बैंककमा द्वन्द्वरत क्षेत्रमा युवा–सामाजिक सहभागिताद्वारा उपचार र शान्ती स्थापना विषयक कार्यशालमा सहभागी हुन जान लागेका थिए । बोर्डिङ्ग पास लिएर अघि गइसकेपछि आफूलाई रोकिएको लेनिनले बताएका छन् ।
लेनिनलाई बैंकक जान नदिनका लागि कसले निर्देशन दियो र किन गरियो भन्ने बारे सबै जानकारी गराउन प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई निर्देशन दिएका हुन् ।
अध्यामगनले उनलाई अध्यागमन ऐन, २०४९, अध्यगनम नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार बैंकक जानबाट रोकेको उल्लेख गरेको छ ।
“








