पत्रकार पौडेललाई दिएको धम्कीप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

बैशाख ३, काठमाडौं । नागरिक दैनिकका पत्रकार दीलिप पौडेललाई आएको सार्वजनिक आकर्मणको धम्की प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार पौडेललाई बैशाख २ गते ‘कोरोनाको बाहानामा ९ महिनाकी गर्भवती डेरा निकाला’ भन्ने शिर्षकमा समाचार लेखेपछि सावाजनिक आकर्मणको खुल्ला चेतावनी दिएको विषयमा नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको हो ।
विभिन्न सरोकारवाला पक्षको भनाइसहित कोरोना भाइरस (कोभिड १९) को बहाना बनाएर कीर्तिपुर १० का स्थायी बासिन्दा घरधनी गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ डेराबाट निकालेको विषयमा उनले समाचार लेखेका थिए ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचारमा चित्त नबुझे त्यसको उपचार खोज्ने विधी र प्रक्रिया हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरी ‘कार्वाही’ सम्मको धम्की दिने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको हाम्रो ठहर छ ।’

पत्रकार पौडेललाई समाचार लेखेको विषयमा जातीय दृष्टिले टिप्पणी गरी कारबाहीको धम्की दिनु दुःखद रहेको महासचिव सिवाकोटिले बताएका छन् । उनले भनेका छन्, ‘सो घटनाको विषयमा समाचार प्रकाशित भएपछि त्यसलाई संगठित स्वरुपमा जातीय दृष्टिबाट मात्र टिप्पणी गरी ‘कार्वाही’ सम्मको धम्की दिइ सार्वजनिक रुपमा दोषी करार गरी सामूहिक रुपमा दबाब बढाउने कार्य दुःखद हो।’
पत्रकार पौडेललाई सुरक्षाको प्रत्याभुति दिलाई पत्रकारिता गर्ने वातावरण सिर्जना गरिदिन सुरक्षा निकाय र स्थानीय प्रशासनसँग प्रेस युनियनले माग गरेको छ ।








