५ बुँदे सहमतिपछि खुल्यो वीपीको ताला

असार १५, धरान । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र रेक्टर कार्यालयमा लगाएको ताला खोलेको छ ।
आज (आइतबार) बिहान प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत पक्षबीच ५ बुँदे सहमति भएको थियो । सहमतिपछि वेल्फेयर सोसाइटीले ताला खोलेको हो ।
null
एमडि एमएसतर्फ नेपाली विद्यार्थीहरुको लागि ३ वटा सिट वृद्धि हुनेगरी सहमति भएको हो । योसँगै जेआर र प्रतिष्ठान व्यवस्थापनबीच सर्जरी, पेडियाट्रिक र इन्टरनल मेडिसिनमा नेपाली विदेशी कोटाबाट एक एक वटा सिट कम गरेर नेपाली विद्यार्थी समायोजन गरिने छ ।
सहमतिसँगै इन्टरनल मेडिसिनको कुल ५ सिटमध्ये नेपालीलाई ३ वटा र विदेशीलाई २ वटा कोटा भएको छ भने पेडियाट्रिकमा कुल ५ सिटमध्ये नेपालीलाई ३ वटा र विदेशीलाई २ वटा कोटा दिइने भएको छ ।
यस्तै, इन्टरनल मेडिसिनको कुल ६ सिटमध्ये ३ वटा नेपाली र ३ वटा कोटा विदेशीलाई दिइने भएको छ ।
यसअघि, सर्जरीमा ४ वटा विदेशी र २ वटा नेपालीलाई छुट्याइएको थियो भने पेडियाट्रिकमा पनि २ वटा नेपाली र ३ वटा विदेशीलाई छुट्याइएको थियो । यस्तै, इन्टरनल मेडिसिनमा ४ वटा विदेशी र २ वटा नेपालीलाई छुट्याइएको थियो ।
यस्तै, समायोजन भएको सिट संख्याको क्याटोगोरी अनुसारको विभाजन सम्बन्धी सुचना काउन्सिलिङ पूर्व नै प्रकाशित गर्ने पनि सहमति भएको छ भने विदेशी कोटामा सिट बाँडफाट सम्बन्धी प्रतिष्ठानको २०१५ देखिको प्रवेश परीक्षा कार्यविधि संशोधन गर्दा नेपाली विद्यार्थीहरुलाई कम्तीमा ५० प्रतिशत सिट हुने गरी कार्यविधि संशोधन गर्ने, स्नातकोत्तर तहको सिट प्रतिष्ठानद्धारा आफ्नो क्षमताका साथ सञ्चालन गर्नुपर्ने लगायतको सहमति पनि भएको छ ।
विदेशी कोटामा सिट संख्या बढी छुट्याएकोे भन्दै जुुनियर रेसिडेन्टहरुले तालाबन्दी गरी धर्ना दिएका थिए । त्यसमा अखिल क्रान्तिकारी, अनेरास्ववियुु सुनसरी तथा हालका नेकपा समर्थित विद्यार्थी संगठनहरुले समेत ऐक्यबद्धता जनाएका थिए ।
नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगलाई पत्र काट्दै त्यहाँको विवाद सुल्झाउन समेत भनेको थियो ।
‘प्ररीक्षाको प्रकाशित सूचना चिकित्सा शिक्षा ऐनले तोकेको व्यवस्था अनुसार भए नभएको सम्बन्धित आयोगले प्रतिष्ठानसँग निक्र्यौल गरी सो बमोजिम निर्देशन दिनुहुन काउन्सिल विनम्र अनुरोध गर्दछ’, पत्रमा उल्लेख थियो ।
उपकुलपति डा. राजकुमार रौनियारले भने ऐनले भनेअनुसार नै कुल सिट संख्याको एक तिहाई विदेशी कोटालाई दिन मिल्ने प्रावधान अनुसार नै सिट संख्या विदेशीको लागि छुट्याइएको दाबी गर्दै आएका थिए ।
विवाद बढ्दै गएपछि तालाबन्दी खुलाउन प्रतिष्ठानले नै पहल अगाडी बढाएको हो । शुक्रबार प्रारम्भिक चरणको वार्ता भएको थियो भने शनिबार राती अबेरसम्म पटक पटक वार्ता भएको थियो । सहमतिमा आज बिहान हस्ताक्षर भएपछि तालाबन्दी खुलाइएको हो ।









