उत्तरगंगा जलविद्युत आयोजनाको अहिले नै समर्थन वा विरोध गर्नुको औचित्य छैनः उर्जामन्त्री

बैशाख १५, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले स्थानीय जनता र राजनीतिक दलहरुको सहमतिमा मात्रै उत्तरगंगा जलविद्युत आयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका दुई पूर्वमन्त्रीसहितको टोलीसँगको छलफलमा उर्जामन्त्री पुनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
null
अहिले नै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको समर्थन वा विरोध गर्नुको औचित्य नभएको स्पष्ट पारे ।
बाग्लुङ र रुकुम जिल्लाको सीमामा पर्ने सो आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले आफ्नो काम अघि बढाएको छ। तर त्यो आयोजनाको काम अघि बढाउँदा नदीको बहाव अनुसार नै अघि बढाउनुपर्ने त्यस क्षेत्रका सांसदलगायतका जनप्रतिनिधिहरुको माग छ। मन्त्री पुनले प्राविधिकहरुले अध्ययन गरेपछि त्यसैको आधारमा छलफल गरेर सो आयोजनाको कामलाई अघि बढाउने सरकारको योजना रहेको पनि जानकारी गराए ।
नदीको बहाव क्षेत्रमै सो आयोजनाको कामलाई अघि बढाउन उपयुक्त हुने ज्ञापनपत्र सहितको सुझाव सरकारलाई दिइएको पूर्व मन्त्री गणेशमान पुनले जानकारी दिए।
भेरी नदीको सहायक नदी उत्तरगंगा जलाशययुक्त आयोजनाबाट विद्युत निकालिएपछिको पानी कालीगण्डकीको सहायक नदी निसीखोलामा झार्ने तयारी छ। ८२८ मेगावाटको सो आयोजनाको पानी अन्यत्र मोडिए भेरीमा बन्ने अन्य आयोजनाहरु प्रभावित हुने भन्दै त्यस क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका छन् ।








