बाढीले खतराको सूचक नाघ्यो, यस्ता ठाउँहरुमा सतर्क रहन सरकारको अपील !

काठमाडौँ, असार १८ । देशभर मौसम सक्रिय रहेको हुँदा विभिन्न ठाउँहरु जलमग्न बनेको छ । मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसमविदहरुले जनाएका छन् ।

पश्चिम नेपालका ठूला नदीहरुमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध समेत गरेको छ ।

मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचनाका अनुसार नारायणी नदको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ ।

विभागका अनुसार सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम विभागहरुले जनाएका छन् ।

नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान ११ बजेर ३५ मिनेटको रेकर्डअनुसार साढे ३ मिटर पुगिसकेको छ । यसैगरी बबईको चेपाङमा ५ मिटर ५० सेन्टिमिटर खतराको लेभल भए पनि ६ मिटर पुगिसकेको छ । अहिले खतराको जानकारी दिन साइरन बजाइएको छ ।

कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी लगायतका नदीहरुमा पनि बहाव बढ्ने क्रम जारी छ । विभागले सोमबार सूचना जारी गरेर मध्य रातदेखि बबई र पश्चिम राप्ती जलाधारका प्रायजसो स्थानमा भारी वर्षा भइरहेकाले तटिय र डुबान भइरहने क्षेत्रमा रहनेहरू उच्च सतर्कता साथ रहन अनुरोध छ ।’

राप्ती नदीको कारण नेपालगञ्ज र लमही तथा नारायणी नदीले रजैया क्षेत्र जोखिममा परेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *