चितवनको खजुरी विस्कुट कम्पनीका महिला कर्मचारी आन्दोलित

कार्तिक २५, चितवन । चितवनको खैरहनी नगरपालिका ५ स्थित विस्कुट उत्पादक कम्पनी खजुरी नेपाल प्रालिमा कार्यरत महिला कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कम्पनीले चरम शोषण गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
बिस्कुट उत्पादन गर्ने प्लान्टमा काम गर्ने महिला श्रमीकहरुले आफुहरुलाई कम्पनीले चरम श्रम शोषण गरेको उनीहरुको भनाई छ । खजुरीको कम्पनी देशकै नाम चलेको कम्पनीमा पर्दछ । जसले भिटामिन, ग्लुकोज, चोकोचोको, टायल कुकीज, चेरी कुकीज नाम राखेर बजारमा बिस्कुट उत्पादन गरि बिक्री बितरण गरिरहेको छ ।
कम्पनीमा कार्यरत २ सय ६७ जना महिला श्रमीक मध्ये १ सय ४२ जना आन्दोलनमा उत्रिएको त्यहाँ कार्यरत महिला कर्मचारी रत्ननगर–१६ की ईन्दिरा देवकोटाले बताईन् । केहिलाई कम्पनीका सुपरभाईजरले जबरजस्ती काममा लगाएको उनको भनाई छ ।

कम्पनीले तिन सिफ्टमा बिहान ९–५, बेलुका ५–१, राति १–९ मा काम गर्ने भनेर महिलाहरुलाई काममा लगाएको भएपनि दैनिक १२ देखी १४ घण्टासम्म उभाएर काममा लागाउने गरेको कर्मचारी देवकोटाले बताईन् । तर श्रम अनुसारको तलव भने नपाएको उनको गुनासो छ ।
सो कम्पनीमा खैरहनी, रत्ननगर, राप्ती नगरपालिकाका महिलाहरुले काम गर्दै आएका छन् । सुरुमा एग्रीमेन्ट पेपर पनि हेर्न नदिई हस्ताक्षर मात्रै गराई काममा लगाई तलब भने १३ हजार ५ सय रुपैंया भनिएता पनि ९ हजार मात्रै दिने गरेको देवकोटाले जानकारी दिईन् ।
लामो समय सम्म उभिएर काम गर्दा कतिपय साथीहरु वेहोस हुने गरेको कम्पनीमा कार्यरत अर्की महिला कर्मचारी रत्ननगर–४ की छाँया चौधरीले बताईन् । सो कम्पनीमा सबै महिलाहरु नै सुपरभाईजर पदमा कार्यरत छन् । ‘महिलानै सुपर भाईजर छन् तर, महिलाकै समस्या बुझ्दैनन्’ कर्मचारी चौधरीले भनिन् –’तल्लो पदका लागि माथिल्लोले हेप्ने प्रवृत्ती देखियो ।’ हाल सो कम्पनीमा सुपरभाईजरको रुपमा समिक्षा रिजाल, बिना गुरुङ, अनु चौधरी, मिरा घिमिरे, गंगा बुढाथोकी, आयुषा घिमिरे र शर्मिला न्यौपाने लगायत रहेका छन् ।
आफ्नो समस्या र मागका बारे कम्पनीका महा प्रबन्धक सुर्य प्रसाद न्यौपानेलाई जानकारी गराउँदा उल्टै काम छोड्न भनेको कर्मचारीहरुले बताएका छन् । आन्दोलित कर्मचारीको समस्याबारे वुझ्न खोज्दा न्यौपानेसँग सम्पर्क हुन सकेन् ।








