‘टुटल र पठाओ माथिको प्रतिबन्ध स्वागतयोग्य, भाडा समायोजन नभए पर्यटन वर्षलाई असहयोग गर्ने’

काठमाडौं, १० मंसिर । अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरुले ट्याक्सीजस्तै ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको टिप्पणी गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको भन्दै सरकारको उक्त कदमप्रति आफूहरुको पूर्ण समर्थन रहेको उनीहरुको भनाई छ ।
अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका अध्यक्ष दुर्गा श्रेष्ठले राज्यले पछिल्लो समय अवैधानिक सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको बताए । ‘सरकारको यो कदम देखावटी नभईकन दिर्घकालिन रुपमा समस्या समाधानको निम्ति प्रेरणदायी बनोस् । विधि र कानूनी शासनलाई सबैले आत्मसात गर्नुपर्छ ।’ उनले भने ।

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि ट्याक्सी चालकहरुको भूमिका के हो ? र राज्यले आफूहरुलाई हेर्ने दृष्टिकोण के हो ? भन्दै उनले प्रश्न गरे । ‘हामीलाई पनि नेपाल भ्रमण वर्ष सफल तुल्याउने महाअभियानमा भूमिका दिनुपर्छ । साथसाथै, अहिले रहेको भाडादर प्रणालीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हामीले सेवा दिन सक्दैनौं । सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ ।’ उनले भाडा समायोजन नभए र अवैध सवारीसाधनले सेवा सुचारु गरे आफूहरुले भ्रमण वर्षलाई असहयोग गर्ने चेतावनी दिए ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय महासचिव पूर्ण तामाङले विधिको शासनअनुसार सबै चल्नुपर्ने धारणा राखे । ‘टुटल, पठाओ र सरर अवैध रुपमा चलेका छन् । निजी प्रयोजनका सवारीहरुपनि यात्रु ओसारपसारमा लागिरहेका छन् ।’
सरकारले पछिल्लो समय चालेको कदम स्वागतयोग्य रहेको उनको भनाई छ । तर, आफूहरु प्रविधिको विरोधी नभएको उनको स्पष्टोक्ति थियो । ‘टुटल, पठाओ र सररजस्ताको अवैध धन्दा बन्द हुनुपर्छ । उनीहरु विधिमा आउनुपर्छ ।’ उनले देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल, पठाओ, सरसरलाई केही अवैद्य सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुको स्वार्थ पूरा गराउनको लागि चल्न दिनु भनी मौखिक निर्देशन दिएकोमा आपत्ति जनाए । ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति आपत्तिजनक छ । यसले कानूनी राज्यको उपहास भएको छ । मुलुकको कार्यकारी प्रमुखबाटै सुझबुझबिना यस्तो गलत र गैरकानूनी निर्देशन दिनु लज्जास्पद छ ।’ उनले भने ।
अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका जिल्ला ईन्चार्ज सुर्य तामाङले पनि सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज भएको बताए । उनले सरकारले अवैध सवारीसाधनलाई नियन्त्रण तथा प्रतिबन्ध नलगाए आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए ।
उनले भने ‘यदि राज्यले उनीहरुलाई नियन्त्रण नगरे हामी उनीहरुको विरुद्धमा शक्ति प्रदर्शन गर्न तयार छौं । राज्यले यसप्रति बेलैमा सचेतता अपनाओस् ।’
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय अध्यक्ष सानु पूर्वछानेले टुटल, पठाओ र सररले भोलि गर्ने विरोध प्रदर्शनको विरुद्धमा आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले निजी सवारीसाधनले कर नतिरी आयआर्जन गरेको कडा आपत्ति जनाए । ‘हामी विधि र विधानअनुसार चल्दै आएका छौं । राज्यले हामीलाई चाहीँ २७ थरीको दोहोरो कर लगाएको छ । वि.स. २०६९ देखि अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन । तर, टुटल, पठाओ र सररलाई आफूखुशी भाडा तोक्ने अधिकार कसले दियो ? यो त दिउँसै लुट हो ।’ उनले भने ।








