खैरहनीमा राहत वितरण व्यवस्थित गरिँदै, एकद्धार प्रणाली अवलम्बन

चैत्र १९, चितवन । लकडाउनपछि विपन्न र ज्यालामजदुरी गर्नेहरुमा खाद्यान्न अभाव पूर्ति गर्न खैरहनी नगरपालिकामा तत्काल राहत वितरण तथा व्यवस्थापन समिति गठन गरिएको छ । 

खैरहनी नगरपालिका विपद व्यवस्थापन समिति संयोजक समेत रहेका वडा नम्वर १ का वडाध्यक्ष भुमी प्रसाद कडेंलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । 

समिति सदस्यहरुमा नगर प्रवक्ता एवम् वडाध्यक्ष रामशरण पाण्डे, वडाध्यक्षहरु टेकबहादुर थापा क्षेत्री, मनेजर महतो, प्रतिमा कार्की, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,प्रशासकीय अधिकृत दामोदर अधिकारी रहेका छन् । 

सो समितिले प्रत्येक वडामा राहत पठाउने र वडाले टोलमार्फत वितरण गर्न लगाउने छ । सम्भवत बिहीबारदेखि प्रत्येक वडामा राहत वितरणको काम हुनेछ । प्रत्येक वडाबाट विपन्न तथा ज्याला मजदुरी गर्नेहरुको तथ्यांक संकलन भईसकेकाले सोही अनुसार वितरण हुने विपद व्यवस्थापन समिति संयोजक भुमी प्रसाद कडेंलले बताए । 

बुधबार नगरपालिका मेयर लालमणी चौधरीको उपस्थितीमा बसेको बैठकले राहत वितरण एकद्धार प्रणाली मार्फत गर्ने निर्णय गरेको छ । अब कोही व्यक्ति, संघसंस्थाले  राहत वितरण गर्न चाहे नगरपालिकाको राहत कोषमा जम्मा गर्नुपर्ने छ । 

नगरपालिकाको मापदण्ड अनुसार ४ जना सम्मको परिवारलाई १० किलो चामल, नुन, तेल, दाल तथा सो भन्दा माथिको परिवारलाई १५ किलो चामल, नुन, तेल र दाल अनिवार्य हुनुपर्ने छ । 

नगद सहयोग गर्न चाहेमा नगरपालिकाको खाता नम्वर ०५०९१०११५०६४०२७ मा जम्मा गर्न सकिने र सिधै नगरपालिकामा नगद पनि जम्मा गर्न सकिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । 

वडा समितिले राहत गर्नु पूर्व वडामा दलका प्रतिनिधिहरुको छलफल गराई सहमती अनुसार वितरण गर्ने व्यवस्था समेत बैठकले गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =