दुर्गमका विद्यार्थीको बाध्यता, विद्यालय पुग्न साढे तीन घण्टा हिँड्नुपर्ने

मंसिर २९, काठमाडौँ । जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ । विद्यालयमा छात्रावासको व्यवस्था हुन नसक्दा यी दुई गाउँपालिकाका विद्यार्थी वर्षौंदेखि साढे तीन घण्टाको बाटो हिँडेर विद्यालय पढ्न जाने गरेका छन् । 

नेपाल सरकारले आधा घण्टाभन्दा बढी हिँडेर विद्यालय जान नपर्ने नीति बनाएको भए पनि यहाँका बालबालिका भने दैनिक साढे तीन घण्टासम्म हिँडेरै पढ्न जानुपर्ने बाध्यतामा छन् । महाभारत गाउँपालिका वडा नं। ६ मा रहेको जनमोहन माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा चमेली घलानले साढे तीन घण्टा हिँडेर विद्यालय आउने गरेको बताए। वडा नं। ७ कालीमाटीमा घर रहेको बताउने उनी दैनिक ६ः३० बजे घरबाट हिँड्ने गरेकी छन् ।   

उठ्नेबित्तिकै घरबाट विद्यालयका लागि हिँड्ने गरेको छु । नजिकै माध्यमिक विद्यालय नहुँदा पढ्नकै लागि आफू साढे तीन घण्टा हिँडेर आउने गरेको उनले गुनासो गरे । उनले घर फर्किंदा पनि त्यति नै समय लाग्ने गरेको बताए। कक्षा १० मा अध्ययनरत छात्र फुर्साङ मोक्तानले तीन घण्टा हिँडेर विद्यालय आएको बताए। विद्यालयमा छात्रावास छैन, भूकम्पले घर भत्किएपछि कोठा लिएर बस्ने ठाउँ पनि छैनन् । त्यसैले दैनिक तीन घण्टा हिँडेर विद्यालय आउने गरेको छु । 

null

महाभारत गाउँपालिका वडा नं। ५ मा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा पञ्चमाया बल दुई घण्टा हिँडेर विद्यालय आउने गरेको बताए। प्राथमिक तहसम्म त गाउँमा नै पढियो तर त्यसभन्दा माथि पढ्ने विद्यालय नहुँदा दुई घण्टा हिँडेर विद्यालय आउने गरेका छौँ । उनीहरू दैनिक २० जना भलडाँडा भन्ने ठाउँबाट विद्यालय आउने गरेका छन् । यी त केही प्रतिनिधि पात्र मात्र भए । जिल्लाको डाँडापारि क्षेत्रमा अझै पनि शिक्षा लिनकै लागि घण्टौँसम्म बालबालिका हिँडेर आउजाउ गर्नुपर्ने बाध्यतामा छन् ।   

छात्रावासका लागि पहल नहुँदा घण्टाँैसम्म असुरक्षित बाटोबाट बालबालिका आउनुपर्ने अवस्थामा रहेको स्थानीय रामबहादुर ब्लोनले बताए। जनमोहन माध्यमिक विद्यालयका प्रधानाध्यापक रामवली सिंह दनुवारले ५० भन्दा बढी विद्यार्थी तीन घण्टा भन्दा बढी हिँडेर आउने गरेको बताए। महाभारत गाउँपालिकामा पाँच हजार सात सय विद्यार्थी अध्ययनरत छन् । आठ वडा रहेको यस महाभारत गाउँपालिकामा गोकुले माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय र कालीदेवी माध्यमिक विद्यालय छन् । गोरखापत्र दैनिकले छापेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =