म्याद गुज्रिएको पाउडर मिसाएर दुध बेच्ने डेरीका ४ वटा गोदाममा शिलबन्दी

काठमाडौँ, जेठ २८ । काठमाडौंँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेका २ वटा डेरीका ४ वटा गोदाममा कृषि मन्त्रालयले शिलबन्दी गरेको छ । आधुनिक डेरी पोड्क्ट प्रालिका तीन वटा गोदाम र पुष्प डेरीमा शिलबन्दी गरिएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल सहितको टोलीले सोमबार अनुगमन गर्दै ४ वटा गोदाममा शिलबन्दी गरेको छ ।

सोमबार बिहान काठमाण्डौंँका सबै डेरीबाट दुधजन्य पदार्थको ३० वटा नमुना संकलन गरेर गुणस्तर तथा नापतौल विभागमा परीक्षणका लागि पठाइएको छ । त्यसको परिणाम बेलुकी सम्ममा दिन मन्त्री खनालले निर्देशन दिएका छन् ।

भारतबाट आयात गरिएका मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको पाइए पछि शिलबन्दी गरिएको हो । उद्योगको गोदाममा मिति गुज्रिएको पाउडरका बोरा भेटिएका थिए ।

भारतबाट एक बोरा किन्दा अर्को एक बोरा सित्तैमा पाइने पाउडर मिसाउँदै दुधका प्याकेट बनाएर गुणस्तरहिन दुध बेच्ने गरेको पाइएको छ ।

सामुहिक कृषक लिमिटेडको उत्पादन सुलभ डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डिडिसी)मा पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले परिणाम नआउँदा सम्म अनुगमन जारी राखिने बताए ।

केही दिन यता मन्त्री खनालले अनुगमनलाई निरन्तरता दिइरहेका छन् । यसअघि कालिमाटी र बालाजुका ९९ वटा फलफूल, तरकारी र माछा व्यापारीलाई कारबाहीको सूचीमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =