१९८४ देखी २०१६ सम्म, सागमा यस्तो छ नेपालको अवस्था

मंसिर १५, काठमाडौं । जतिबेला नेपालले पहिलो दक्षिण एशियाली खेलकुद प्रतियोगिता गर्ने मौका पायो सायदै नेपालले प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्छ भन्नेमा द्विविधा नै थियो ।
१९८४ तिर नेपाल कम विकासशील मुलुक मध्येको दोस्रो नम्बरमा थियो । विकासका सामान्य पूर्वाधार समेत नभइसकेको अवस्थामा नेपालले दक्षिण एशियाकै खेलकुदको महाकुम्भ पहिलो पटक गर्ने अवसर पाउँदा विकासशील देशहरुले प्रतियोगिता हुने नहुनेमा शंका गर्न स्वभाविक पनि थियो । तर, नेपालले उक्त प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्न सफल भयो । भने प्रतियोगितामा नेपालले ४ वटा स्वर्ण नै जित्न सफल भयो ।
सागको दोस्रो संस्करण १९८६ मा भयो जहाँ नेपालले २२ पदक मध्ये एउटा मात्र स्वर्ण जित्न सफल भयो । तेस्रो संस्करण १९८७ मा भयो जहाँ नेपालले दुई वटा स्वर्ण जित्यो । १९८९ मा एउटा स्वर्ण जित्दा १०९१ मा २ वटा र ०९३ मा पुनः एउटा मात्र स्वर्ण हात पार्न सफल भयो । १९९५ मा नेपालले सुधारिएको प्रर्दशन गर्यो जहाँ नेपालको पोल्टामा ७ वटा स्वर्ण आए । भने, १९९९ मा नेपालले दोस्रो पटक सागको आयोजना गर्यो । होम ग्राउण्डमा भएको प्रतियोगितामा नेपालले ऐतिहासिक प्रर्दशन गर्यो । जहाँ नेपालले ३१ वटा स्वर्ण जित्न सफल भयो । त्यसपछि एकै पटक २००४ मा प्रतियोगिताको नवौं संस्करण हुँदा नेपालको नतिजा पुनः खस्कियो । उक्त प्रतियोगितामा नेपालले ७ स्वर्ण प्राप्त गर्यो । त्यसपछि २००६ मा नौं वटा स्वर्ण प्राप्त गर्दा, २०१० मा ८ वटा र एकै पटक ६ वर्षपछि २०१६ मा भएको प्रतियोगितामा ३ वटा स्वर्ण जितेको थियो ।

समग्रमा नेपालले १२ औं सागसम्म आइपुग्दा ७६ वटा स्वर्ण जितेको छ भने, १३५ रजत र ३०२ कास्य पदक बटुल्न सकेको छ । छिमेकी मुलुक भारतको कुरा गर्दा १२ औं सागसम्म आइपुग्दा भारत सदैव पावरफुल रहेको छ । अहिलेसम्म भारतले १०८९ स्वर्ण जित्दा ६४३ रजत र ३३५ कास्य पदक प्राप्त गर्न सफल भएको छ । भारतपछि सबैभन्दा धेरै स्वर्ण पाकिस्तानको पोल्टामा छ । पाकिस्तानले अहिलेसम्म २६७ स्वर्ण, ३८५ रजत र ३७५ कास्य पदक प्राप्त गरेको छ । पाकिस्तान पछि धेरै स्वर्ण जित्ने राष्ट्रमा श्रीलंका पर्दछ । श्रीलंकाले अहिलेसम्म २१० स्वर्ण, ३५१ रजत र ५५३ कास्य पदक प्राप्त गरेको छ ।
चौथो स्थानमा नेपाल रहँदा ७६ स्वर्ण जितेको छ । नेपालपछि बंगलादेश रहेको छ, जसले अहिलेसम्म ७१ स्वर्ण, १७९ रजत र ४०३ कास्य पदक प्राप्त गरेको छ । अफगानिस्तानले अहिलेसम्म २१ स्वर्ण हासिल गरेको छ भने, २८ रजत र ७९ कास्य पदक प्राप्त गर्न सफल भएको छ । त्यसपछि भुटान रहेको छ जसले २ वटा स्वर्ण, १६ रजत र ४८ कास्य जितेको छ । सागको पुछारमा रहेको माल्दिभ्सले अहिलेसम्म एउटै स्वर्ण जित्न सकेको छैन । उसले ३ रजत र ७ कास्य मात्र जितेको छ ।
१२ औं संस्करणको सागसम्म आइपुग्दा १७९७ स्वर्ण पदक वितरण भएका छन् । १८०२ रजत हुँदा २१५६ कास्य पदक वितरण भएका छन् । जम्मा मेडल ५७५५ पुगेका छन् ।
पहिलो सागमा ५ खेल हुँदा दोस्रोमा ७, तेस्रो संस्करणमा १० खेलहरु भएका थिए । चौथो, पाँचौ र छैटौं संस्करणमा १०/१० खेल भए । सातौं संस्करणमा एउटा खेल थपियो । आठौं संस्करण नेपालमा भएको थियो जहाँ १२ खेल भए । नवौं र दशौंमा २०/२० खेल हुँदा ११ औं संस्करणमा २३ खेल भए । भारतमा भएको १२ औं प्रतियोगितामा पुनः २३ खेल भएका छन् । यसपटक नेपालमा हुन गइरहेको प्रतियोगितामा २६ वटा खेलमा प्रतिष्पर्धा हुने बताइएको छ । यद्यपी अन्य दुई वटा समावेश हुने नहुने टुंगो लागि सकेको छैन ।
यसपटकको सागमा अफगानिस्तानको सहभागिता छैन । १३ औं साग प्रतियोगिता आजबाट दशरथ रंगशालामा हुँदैछ । यसपटकको प्रतियोगितामा नेपालले कम्तिमा ५० स्वर्ण पदक प्राप्त गर्ने लक्ष्य लिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेश कुमार सिलवालले बताउँदै आएका छन् ।








