भूकम्पको ४ बर्षः नीजि आवास निर्माणको काम आधा बाँकी

बैशाख १२, काठमाडौं । विनाशकारी भूकम्प गएको बिहीबार चार वर्ष पुगेको छ । अघिल्लो दिन बुधबार बिहान गएको भूकम्पको परकम्पले सबैलाई ४ बर्षअघि भूकम्प जाँदा बखतको कहालि लाग्दो परिस्थितिको स्मरण गरायो ।
विनाशकारी भूकम्पको चार वर्षसम्म पनि क्षती भएका मध्ये आधा पीडितको घर बन्न नसकेका अवस्थामा पछिल्लो पटक धादिङको नौबिसे क्षेत्रलाई केन्द्र बनाएर बुधबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पले झस्काएको छ । राहत नपाएर पाँचौँ बर्खाको मार खेप्न बाध्य हुने पीडितहरु थप पीडामा छन् ।
null
भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि अति प्रभावित जिल्लामध्ये दोलखा, सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, काभ्रे र काठमाडौंका भूकम्प पीडितहरूले अझै पनि सरकारले दिएको किस्ता समयमै नपाउँदा भनेबमोजिम काम गर्न पाएका छैनन् ।
१२ वैशाख ०७२ र त्यसपछिका परकम्पहरुबाट ३१ जिल्लामा भएको क्षति संकलन गरी त्यसको लेखाजोखा गरी लगत संकलन गरी पुनर्निर्माण गर्नुपर्ने भए पनि समयमै इन्जिनियरलाई कार्यस्थलमा नखटाउँदा र कर्मचारी जान नमान्दा समयमै काम हुन सकेन ।
पुनर्निर्माण प्राधिकरणले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध गुम्बा, गोरखाको मनकामना मन्दिर, हनुमानढोका दरबार र केही जिल्लामा विद्यालय भवन बनाउने काम सम्पन्न गरेको छ भने धरहरा अझै कहिले बनी सक्ने हो टुंगो छैन ।
सिंहदरबारलगायत थुप्रै संरचना अझै पनि ओझेलमै रहेका छन् । राजधानीकै केन्द्रविन्दुमा रहेको रानीपोखरी काठमाडौं महानगरपालिका र स्थानीय कला संस्कृति झल्किने गरी नहुँदा झनै पोखरी निर्माण अन्योलमा छ ।
भूकम्प प्रभावित ५० प्रतिशत पीडितहरुले मात्र निजी आवास निर्माण सम्पन्न गरेको देखिन्छ ।
काठमाडौं वरपरका १४ जिल्ला भूकम्पबाट अति प्रभावित भएका थिए भने १८ जिल्ला कम प्रभावित सूचीमा छन् । कुल भत्किएका ८ लाख २४ हजार ४ सय ५२ मध्ये ४ लाख ३ हजार २ सय ८० लाभ ग्राहीले मात्र तेस्रो किस्ता लिएका छन् ।
भुकम्पले ८ लाख २४ हजार ४ सय ५२ घरमा क्षति पुगेको थियो । जसमध्ये ६१ हजार ८ सय ९१ घर प्रबलीकरण गरेर बस्न सकिने भएकाले उनीहरुलाई मर्मत खर्च दिइएको थियो । नयाँ घर बनाउनुपर्ने पीडितहरु मध्ये हालसम्म ७ लाख ६० हजार २ सय ६९ घर परिवारसँग अनुदान सम्झौता भएको छ । ती मध्ये ७ लाख ५५ हजार ८ सय ६८ परिवारले मात्र पहिलो किस्ता लिएका छन् ।
५ लाख ६४ हजार ३ सय ४२ पीडितले घरको जग हालेर दोस्रो किस्ता लिएका छन् । यस्तै नयाँ घर निर्माण सम्पन्न गर्दै ४ लाख ३२ हजार ८० परिवारले मात्र अन्तिम किस्ता लिएको राष्ट्रिय पुुनर्निर्माण प्राधिकरणले जनाएको छ । घर बनाईसकेपछि पनि केही प्रकृया पुरा गर्नुपर्ने भएकाले ८ हजार ३ सय २६ परिवारले मात्रै घर निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् ।
यसरी आधा बढी घरको पुनर्निर्माण नहुँदा भूकम्पपीडित अझै टहरामै छन् । जोखिमयुक्त बस्ती ४ हजार घरपरिवारमध्ये आधाजतिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । तर अरु जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका धेरै परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउन काम अझै सकिएको छैन ।
भूमिहीन, सुकम्बासीलगायतको व्यवस्थापन हुन बाँकी छ । सार्वजनिक, ऐलानी, वन क्षेत्रमा बसिरहेकाको स्थानीय तहमार्फत् अभिलेखीकरण गर्ने काम भइरहेको छ । गुनासो सुनुवाइका लागि अन्तिम पटक अवसर दिइएको छ ।
प्राधिकरणले पुनर्निर्माण सन्तोषजनक रहेको दाबी गर्दै आएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प पुनर्निर्माण द्रुत गतिमा अघि बढेको दाबी गर्छन् । २० महिनाभित्र पुनर्निर्माण सक्ने लक्ष्यसाथ काम भइरहेको उनको दावी छ ।
‘५० प्रतिशत लाभग्राही घरमा सरेका छन । ३० प्रतिशत जतिले पुनर्निर्माणको काम गरिरहेका छन्, चालु आर्थिक वर्षमा सबै घर निर्माण गरिसक्ने लक्ष्य छ । यसले हाम्रो काम सन्तोषजनक भएको देखाउँछ ,‘ उनी भन्छन् ‘दाताले गरेको सम्झौता रकम नेपालमै खर्च गर्ने र पछि शोधभर्ना लिँदै जाने छौं, समयमै पुनर्निर्माणको काम सक्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’








