कांग्रेसमा फेरि किचलो, नियमावलीमा अड्कियो १४ एजेन्डाको बैठक

काठमाडौं, २ साउन । लामो किचलोपछि विभिन्न १४ एजेन्डा तय गर्दै सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक नियमावली मस्यौदाका केही विषयमा नै अड्किएको छ । २२ असारबाट सुरु केन्द्रीय समिति बैठकमा नियमावली मस्यौदा समितिले बनाएको मस्यौदाको विषयलाई लिएर फेरि किचलो सुरु भएको हो । नियमावलीमा राखिएका कतिपय प्रावधानलाई कांग्रेसभित्रको संस्थापन पक्षबाहेक इतर पक्षले रुचाएका छैनन् । यसकारण, केन्द्रीय समिति बैठकमा नियमावलीलाई अन्तिम रूप नदिईकनै थप छलफलपछि टुंगो लगाउने भन्दै थन्काइएको छ ।नियमावलीमा समावेश पार्टीका सक्रिय सदस्यबाट लिइने लेबीका विषय, पार्टीको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको विषय, अनुशासनको नीति तथा भ्रातृ संगठनसहितका केही विषयमा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच मतभेद देखिएको हो । संस्थापन पक्ष भने मस्यौदा समितिले तयार गरेकै विषयलाई यथावत् राख्नुपर्ने पक्षमा छ भने इतर पक्ष सहमतिबाट त्यसलाई फेरबदल गर्नुपर्ने अडानमा छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नियमावलीमा विधानले नदिएका कुरालाई पनि जबर्जस्ती राखिएको बताए ।
उनले नियमावलीका नाममा लेबीका विषय र भ्रातृ संगठनमाथि ठाडो हस्तक्षेप गर्ने विषय ल्याएर पार्टीले हरेक क्षेत्रमा आफ्नो दबाब देखाउन खोजेको जनाए । ‘नियमावलीका नाममा पार्टी विधानले दिँदै नदिएका विषयलाई पनि ल्याइयो । लेबीको विषय र भ्रातृ संगठनमाथि ठाडो हस्तक्षेप गर्ने नियतका विषय आएका छन् । यी स्वीकार्न सकिने विषय होइनन्,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने । उनले पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानकै निर्देशनमा समेत जिल्ला जिल्लामा समिति बनाउन सक्ने गरी नियमावलीमा व्यवस्था राखिएकोप्रति समेत आपत्ति जनाए ।‘जिल्लामा पनि केन्द्रकै नीति तथा प्रशिक्षण प्रतिष्ठानले नै भने जसरी प्रशिक्षण प्रतिष्ठान बनाउनुपर्ने बन्धन राखियो । यो ठीक होइन,’ पौडेलले थपे । नयाँ नियमावलीमा प्रतिष्ठानले केन्द्रदेखि जिल्लासम्म आफ्नो समिति बनाउने र कार्यविधिलगायतका विषयसमेत आफैं टुंगो लगाउने प्रावधान राखिएको छ । त्यसको जानकारी केन्द्रलाई मात्रै दिनुपर्ने प्रस्तावमा इतर पक्ष असहमत देखिएका हुन् ।पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले समेत मनपरी ढंगबाट विधानको व्यवस्थाभन्दा बाहिर गएर नियमावली बनाइएको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनले पार्टीलाई जसरी भए पनि नियन्त्रणमुखी बनाउने किसिमबाट मात्रै पार्टी नेतृत्वबाट हरेक क्रियाकलाप हुँदै आएकोप्रति समेत आपत्ति जनाएका छन् । ‘हरेक विषयमा पार्टीलाई कसरी नियन्त्रण गर्ने र कसरी कब्जामा राख्ने भन्ने सोचबाट पार्टी चल्दैन । विधानको व्यवस्था के हो, त्यो हेरेर पार्टी चलाइनुपर्छ । मनलाग्दी गर्दा पार्टीलाई त्यसको असर पछिसम्म पर्छ,’ सिटौलाले भन्दै आएका छन् ।नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकले भने केही विषयलाई छलफलबाट टुंगो लगाउने गरी नियमावलीलाई केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरेको दाबी गरे । ‘केही विषयमा फरक कुराहरू आएका छन्, त्यसलाई छलफलबाट टुंगो लगाउँदै जाने भन्ने सहमति छ,’ लेखकले भने । बैठक बाढीपहिरोका कारण ७ साउनसम्मका लागि स्थगित गरिएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।








