भ्रष्टाचारी सरकारले जनताको काम गर्न छोड्योः कांग्रेस सहमहामन्त्री डा.महत

मंसिर १०, पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले केपी ओली नेतृत्वको दुई तिहाईको सरकार काण्डै काण्डले बदनाम भएको बताएका छन् ।   

मंगलबार पोखरामा आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै महतले सो कुरा बताएका हुन् ।   

जनताको दुई तिहाई मत प्राप्त गरेको सरकारले जनताका काम गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै महतले देशमा हत्या, हिंसा, लुटपाट मच्चाउन उद्दत रहेको सरकारले राष्ट्रियतालाई धरापमा पारेको टिप्पणी गरे ।   

सरकारका काम एक पछि अर्को गर्दै अधिनायकवाद उन्मूख भएको उनको भनाइ छ । सरकारलाई सही बाटोमा ल्याउन यो उपनिर्वाचनमा कास्की सहित देशका सबै ठाउँमा कांग्रेसलाई जिताउनु पर्ने उनको तर्क छ ।   

‘यो सरकार लोकतन्त्रप्रति नै अनुदार छ । नेपालीको नजरमा मात्र नभएर अन्तराष्ट्रिय मामलामा समेत चुकेको छ । यसले जनताको भावनाको कदर गर्न सक्दैन’, उनले भने ।   

देशको सीमाना मिचेर भारतले नक्सा जारी गर्दा समेत ओली सरकार निदाएर बसेको समेत उनले आरोप लगाए ।   

नेपाली कांग्रेस उपनिर्वाचन वुथ उपसमिति क्षेत्र नं २ कास्कीद्धारा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले मत परिणाम नआउँदासम्म कांग्रेसका नेता कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिए ।   

डा. महतले कास्कीका जनताले कांग्रेस उमेद्वार खेमराज पौडेललाई जिताएर सरकारको गलत रवैयाको भण्डाफोर गर्ने अवसर आएको प्रष्ट पारे।   

लोकतन्त्रमा वंशको साशन सैह्य नहुने भन्दै उनले कांग्रेस उमेद्वार खेमराज पौडेल एक निष्ठावान व्यक्ति भएकोले उनलाई नै मतदान गर्न कास्कीबासीलाई अपिल गरे।   

महतले पोखरा ८ मा आयोजित घरदैलो कार्यक्रममा पुगेर कांग्रेस उमेद्वार खेमराज पौडेललाई विजयको शुभकामना पनि दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =